Friday 10th July 2026
सम्भवतः संसारमै सबैभन्दा धेरै पटक कार्यवाहक प्रधानमन्त्री बन्ने बलबहादुर
-स्वागत नेपाल
सम्भवतः संसारमै सबैभन्दा धेरै पटक कार्यवाहक सरकार प्रमुखको जिम्मेवारी पाउने व्यक्ति नेपालका बलबहादुर राई हुन् । मेरो अध्ययनमा उनीभन्दा धेरै पटक कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने व्यक्ति मैले कतै देखेको, पढेको र सुनेको पनि छैन ।

अहिलेका विमलेन्द्र निधी र कमल थापाजस्तो कार्यवाहक प्रधानमन्त्री पाउन वरिष्ठताको निहुँ नखोज्ने बरु कहिल्यै पनि कार्यबाहक चाहियो पनि नभन्ने बलबहादुर राईलाई सम्झनु पर्ने धेरै कारणहरु छन् ।
बलबहादुर राई १९ पटकसम्म कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका थिए । जीवनको अन्तिम अवस्थासम्म पनि सक्रिय राजनीतिमा निरंकुशता विरुद्ध आफ्नै शरीर आफैँले धानेर हिँड्न समेत गाह्रो हुँदा पनि सडकमा ओर्लिएर उनी लोकतन्त्रका लागि लडेका थिए । प्रहरीले पनि उनलाई समाएर पाखा लगाउँथे । मैले नै रिपोर्टिङ्ग गर्दा पनि पटक पटक उनलाई प्रहरीले प्रहार गर्नुको सट्टा साल्यूट गरेको पनि देखेको थिएँ । पहिला साल्यूट गरेर बिस्तारै समाउँदै उनलाई आन्दोलनको मध्यभागबाट जोगाएर बाहिर पुर्याई गिरफ्तारको नाममा सुरक्षित गराएको देख्दा भावुक बनेर मैले आफ्नै बाइलाइनमा सम्मानपूर्वक एङ्कर न्यूजहरु पनि लेखेर प्रकाशित गरेको थिएँ ।

को वरिष्ठ भन्ने थापा र निधीको झगडाको कारण बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैलाई पनि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी नदिई चीन भ्रमणमा गएको सन्दर्भमा सबैभन्दा धेरै पटक कार्यवाहक प्रधानमन्त्री बन्ने राईलाई मैले अनायासै सम्झन पुगेँ । र, यो पनि सम्झन पुगेँ कि उहाँ हुनु भएको भए अहिले मरीमरी हाँस्नुहुन्थ्यो होला कार्यबाहक नपाएर मर्न लागेकाहरुलाई देखेर ।
आवास र श्रम गरी दुई पटक क्याविनेट मन्त्री बनेका राई १९७७ साल फागुन ६ गते ओखलढुङ्गा जिल्लाको मौलामा जन्मिएका थिए । देशका लागि आइपर्दा लड्न नेपाली सेनाको महिनावारी ४ रुपियाँको जागीर खान थालेका राईले देशभित्रकै लोकतन्त्रका लागि ६ दशक लामो लडाइँ लड्नु पर्यो । नवलिसंह राई र भवीमाया राईको साँइला छोरा बलबहादुरले सैनिकको जागिरमा पनि विभेदहरु देखेपछि र इण्डियामा अंग्रेज विरुद्ध भारत छोडो आन्दोलन चलिरहेको घटनाहरुले उनमा पनि नेपालमा समेत विद्रोह गर्नुपर्ने भावना जाग्न थालेको थियो । २००३ साल तिरको त्यो समयमा इण्डियाबाट नेपाली कांग्रेसका निर्वासित नेताहरुले पठाएका विद्रोहात्मक पर्चा आदि भेटेर पढ्न थालेपछि उनमा प्रजातन्त्रका लागि क्रान्ति गर्नुपर्छ भन्ने भावना बढेको उहाँ अन्तरवार्ताहरुमा बताउने गर्थे ।
प्रजातन्त्र सेनानीका रुपमा परिचित राई २०१३ सालदेखि २०४५ सालसम्म नियमित आफ्नो जिल्लाको पार्टी सभापति बनेका थिए । उनी २०१५ सालको निर्वाचनमा सांसद निर्वाचित भएका थिए भने २०१७ सालमा पञ्चायत व्यवस्था शुरु भएपछि जेल मात्र परेनन् उनको सर्वस्व हरण समेत भएको थियो । २०२९ सालमा आममाफी पाए पनि फेरि २०३१ साल, २०३६ साल, २०४६ साल र ०६२÷६३ सालका आन्दोलन र अभियानहरमा पटक पटक पक्राउ परेका राईको ९० वर्षको उमेरमा वि.सं.२०६७ असार २० गते टिचिङ्ग अस्पताल काठमाडौंमा निधन भएको थियो ।

एउटै मात्र कुरा फेरि पनि मनमा के आउँछ भने १९÷१९ पटक कार्यवाहक प्रधानमन्त्री हुने क्षमता भएको राईको त्यो आँटिलो छोरो किन एक पटक पनि प्रधानमन्त्री चाहिँ भएन ? के क्षमता थिएन ? कि सबैभन्दा सोझो देखेर मात्र कार्यवाहक बनाइएका थिए ? अनि अन्तिम श्वाससम्म सभापति र प्रधानमन्त्री बनिरहने गिरिजाप्रसाद कोइराला बाँचिरहनुले मात्र उनले कार्यवाहक प्रधानमन्त्री बन्ने अवसर पाएका थिए ? कि त्यही कारण प्रधानमन्त्री बन्ने अवसर चाहिँ गुमाएका थिए ?
जे होस्, हुलाक टिकटमा समेत अंकित भएका बलबहादुर राई, असल र आदर्श राजनीतिका प्रतीक बलबहादुर मेरो लागि एउटा दर्शन हो । उहाँमा सदैव सम्मान छ मेरो ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...