Saturday 11th July 2026
भौतिक विज्ञान र आध्यात्मिक विज्ञानको समन्वय (फ्यूजन)
– कृष्ण मोहन कर्माचार्य

मिति २०७४।०५।०१ को नागरिक पत्रिकामा प्रकाशित समाचार अनुसार भारत तथा अमेरिकामा कार्यालय रहेको अन्तर्राष्ट्रिय आध्यात्मिक संस्था श्री चैतन्य सरस्वत ईन्स्टिच्यूटले विभिन्न मलुकमा कार्यक्रम गर्दै आएको र त्यसै कार्यक्रमको निरन्तरताको रूपमा गत भदौ ०२ र ०३ गते काठमाडौंको प्रज्ञा भवनमा आयोजना भएको पाँचौ अन्तर्राष्ट्रिय कन्फेरेन्स ‘साइन्स एण्ड साइन्टिस २०१७’ नाम दिएको उक्त कार्यक्रम विज्ञानलाई अध्यात्मसँग कसरी जोड्ने भन्ने विषयमा केन्द्रित भएको जनाइएको छ । आर्थिक अभावका कारण पर्याप्त वैज्ञानिक खोज अध्ययन हुन नसकेको जनाउँदै आएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) तथा त्रिभुवन विश्व विद्यालय अन्तर्गतको बायोटेक्नोलोजी विभागले यस कार्यक्रमलाई आर्थिक सहयोग गरी सहप्रायोजन गरेका हुन् । कन्फेरेन्स आध्यात्मिक विज्ञान र भौतिक विज्ञानलाई कसरी जोड्न सकिन्छ, चेतना के हो जस्ता विषयमा छलफल केन्द्रित हुने उल्लेख गरिएको छ । अहिलेको परिपे्रक्षमा कार्यक्रम सञ्चालन गर्न नेपाल विज्ञान तथा प्रविधि संस्थान (नास्ट) तथा त्रिभुवन विश्व विद्यालय अन्तर्गतको बायोटेक्नोलोजी विभागबाट रुचि देखाई आर्थिक सहयोग गरी सहप्रायोजन गर्नु भएको कार्य प्रशंसनीय, स¥हानीय र सान्दर्भिकै छ ।
अहिलेको परिस्थितिमा यस सम्बन्धी छलफल तथा कार्यक्रम बढी से बढी हरेक देशमा चलाउनु पर्ने अत्यावश्यक भइसकेको छ । किन भने अहिले दुनियाँमा आध्यात्मिक ज्ञानको अभावको कारण ठाउँ–ठाउँमा मानिसहरू अशान्त दुःखी, पीडित तथा आतङ्कित भई मानिसहरूको मनोदशा दिन प्रतिदिन बिग्रँदो छ । जता हे¥यो उतै मानिसहरू भौतिक लालसामा चुर्लुम्मै डुबेका देखिन्छन् । भौतिक विज्ञानले मात्र उनीहरूको इच्छा आकांक्षाहरू परिपूर्ति हुने देखिँदैन ।
मानिस चेतनशील प्राणी हो । चेतनशील प्राणी भएको नाताले भौतिक सुखको लालासामा मात्र यद्यपि दौडिरहनु उनीहरूको लागि स्वभनीय कुरा होइन । भौतिक विज्ञानको विकास हुनु केही हदसम्म जरुरी छ । तर यसको मतलब यो होइन कि मानिसका सारा आवश्यकताहरू सबै यसैले मात्र पूरा गर्छ भन्ने ठानी यसको पछि पछि मात्र लाग्ने अवस्था राम्रो होइन । मानिसलाई यसले दिने सन्तुष्टि दीगो नभई क्षणिक हो यो कुरा बुझ्न आवश्यक छ । यसको विपरित आध्यात्मिक विज्ञानले मानिसहरूलाई दिगो सुखशान्ति, सेवा भाव, मेलमिलाप, प्रेम तथा सहअस्तित्व कायम गरी जीवन जीउने ज्ञान दिन्छ । आध्यात्मिक विज्ञानले मानिसलाई वसुधैव कुटुम्बम को भावना जगाई बाँच र बाँच्न देउ भन्ने सन्देश दिन्छ । अहिलेको जमानामा व्यक्ति व्यक्ति जस्तै राष्ट्र राष्ट्रहरू पनि भौतिक विकासको लालसामा महत्वकांक्षी भावनाले पछि दौडदा अशान्ति युद्ध तथा आतङ्कवादको शिकार हुने गरेको पाइएको छ । आध्यात्मिक ज्ञान धर्मभन्दा माथिल्लो स्तरको ज्ञान हो । धर्ममा विभिन्न सम्प्रादायिक भावनाले काम गर्छ । आफ्नो सम्प्रदायको हित मात्र सोच्छ र मेरो धर्म ठूलो तिम्रो सानो भनेजस्तै तुलनात्मक कुराहरू निस्कने गर्छ । तर आध्यात्मिक ज्ञान त्यस्तो हुँदैन । हामी सबै उही एउटै परमात्मा परमेश्वरका सन्तान हौंँ, यो ब्रह्माण्ड सबैको साझा हो ।
हामी मनुष्य तथा प्राणी मात्रमा कुनै भेद छैन भन्ने भाव जगाउँछ । आध्यात्मिक ज्ञानमा सङ्किर्णताको स्थान रहँदैन । यसमा व्यापक तथा विशालताको भाव रहन्छ । भौतिक विज्ञानले भौतिक वादी चिन्तनलाई बढावा दिन्छ । यसका केही फाइदाहरू भए तापनि बेफाइदाहरू पनि धेरै छन् । अब यसलाई यसरी तुलनात्मक रूपले पनि लिन सकिन्छ । तुलनात्मक विवरण निम्नानुसार उल्लेख गरिन्छ :-
भौतिकवादी चिन्तन वा विचारका उपजहरू :-
१) लोभ, लालच, पाप, जालसाजी, झै झगडा, बलात्कार , हत्या, हिंसा, लडाइँ, चरम व्यक्तिगत स्वार्थ, भ्रष्टाचार, नाफामुखी, अस्वस्थ प्रतिस्पर्धा, ईस्र्या, डाहा, छिटो आकर्षण, अवसाद (फ्रस्टेसन), बिकृति, कुसंस्कार, कुबुद्धि, (कु विचार), अहंकार आदि इत्यादि ।
२) भौतिक विकास
३) अस्थायी सुख
४) संकिर्ण सोचाई
५) व्यक्तिगत स्वार्थः– जस्तै आफैँ खाउँ, आफैँ लाउँ, आफै मात्र जीउँ भन्ने भाव बढी से बढी भए परिवारमा सीमित स्वार्थ ।
आध्यात्मिक चिन्तन वा विचारका उपजहरूः–
१) सेवा भाव, मेलमिलाप, प्रेम, सहअस्तित्वको भाव ।
२) दिगो सुख शान्ति
३) त्याग,
४) सामुहिक स्वार्थ जस्तै :- आफू पनि बाँच र अरूलाई पनि बाँच्न देउ भन्ने भाव जसले संसारलाई व्यापक दृष्टिकोणबाट सहयोग वा उपकारको भाव जगाउने कार्य गर्छ ।
५) अहिंसा
६) सेवामूखी
७) भातृत्व
८) विशाल हृदय
आधुनिक युग भौतिक विज्ञानको प्रभुत्व फैलिएको समय र जुनसुकै मुलुकमा पनि भौतिक विज्ञान र विचारधाराको मात्र बोलवाला भइदिनाले देश देशमा बिकृति, हत्या, हिंसा, आतङ्ग, अवसाद तथा अहंकारले मानिसहरू ग्रस्त भई दुःखी र पीडित छन् । यी सबै अवस्था आध्यात्मिक ज्ञान विज्ञानको अभावले नै सृजित भएको हो । शिक्षा प्रणाली पनि त्यस्तै छ, खाली हातमुख जोड्ने किसिमको (जब ओरियन्टेड) शिक्षा मात्र पाइन्छ । हामी मनुष्यले पाएको यस्तो अमुल्य जीवन कसरी सञ्चालन गरी जीवन सुखमय बनाउने भन्ने खालको (लाईफ ओरियन्टेड) ज्ञान दिने शिक्षा पाइँदैन । यस कारण यो समस्याबाट मानिसहरूलाई मुक्त गर्न हतारै भइसकेको छ । यसबाट युवाहरूनै बढी पिडित वा आक्रान्त भएका भेटिन्छन् । जति जति थप नयाँ नयाँ भौतिक आविस्कारहरू हुन्छन् त्यति त्यतिनै मानिसलाई अमन चयन, सुख शान्तिको आभास गर्न गाह्रो हुँदै गइरहेको महसुस हुन्छ ।
धेरै कुराहरूको विचार गर्दा भौतिक विज्ञानको चमत्कारले मानिसहरूको विवेकै हराइसकेको भान हुन्छ । केटाकेटीहरूमा एकाङ्किपन, संस्कार विहीन र ठूला वयस्क व्यक्तिहरूमा सामाजिक कार्यमा कम अभिरुची र सहयोगी भावनाहरू पनि बिस्तारै हराउँदै गइरहेको महसुस हुन्छ । वृद्ध वृद्धाहरूको हालत झनै नाजुक हुँदै गइरहेको छ । कम विकसित मुलुकका युवाहरूमा बढी महत्वकांक्षी स्वभावले रोजगारीको लागि देश विदेश पलायन भइरहेका छन् । राष्ट्रिय भावना पनि बिस्तारै घट्दै गइरहेको आभास हुन्छ । यि माथि उल्लेखित कुराहरूले के जनाउँछ भने भौतिक विज्ञान वा भौतिक वादी चिन्तनबाट धेरै विकृतिहरू देखा परिसकेको छ । अतः भौतिक विकास मात्र सबै कुरा होइन, मानिस चेतनशील प्राणी भएकोले भौतिक विकासको साथ साथै मानसिक सुख शान्तिको लागि आध्यात्मिक विज्ञान तथा शिक्षाको पनि त्यतिकै महत्व तथा आवश्यक छ भन्ने कुरालाई मनन गर्न आवश्यक छ ।
यो हाम्रो शरीर पञ्चतत्वले बनेको छ । हामी जन्मिदै पञ्चतत्व लिएर जन्मेका हुन्छौं । बाँचुञ्जेल यो पञ्चतत्वलाई हामीले राम्रो व्यवस्थापन गर्नुपर्ने हुन्छ । किनकि यसको व्यवस्थापन राम्रो नभएमा हाम्रो अस्तित्वको सवाल आउँछ । जस्तैः पञ्चतत्वमा पृथ्वी, अग्नी, जल, वायु, आकाश यि कुनै कुरामा मानिसको अस्तित्व रहनको लागि यसमा प्रदुषण (विकृति) आउन दिनु हुँदैन । तर अहिलेको भौतिक विकासले यो पञ्चतत्वको राम्ररी संरक्षणको लागि राम्रो व्यवस्थापन भएको पाइँदैन । भौतिक विकासमा मात्र एकोहोरो ध्यानले हाम्रो यो पञ्चतत्वमा नराम्रो प्रभाव परी प्रदुषण (बिकृति) फैलिसकेको छ । जस्तैः भौतिक विकासको लागि मानिसले प्रकृतिको संरक्षणको ख्याल गरेको पाइँदैन । पृथ्वी तत्वमा बन जंगलको नाश बढी पहाडी जमीनको उत्खनन कार्यले पृथ्वीलाई नराम्रो असर परी वातावरण असन्तुलित भई बाढी पहिरो तथा भूकम्प आदि आई मानिसलाई बढी पिरोलेको छ । बढी रसाययिनक मलको प्रयोगले जमीनको माटो दिन प्रतिदिन बिग्रदै गएको छ । त्यस्तै किसिमले जलमा पनि दिन प्रतिदिन प्रदुषण बढ्दो छ । अग्नी, वायु र आकाशमा पनि अधिक विकासको नाउँमा अति भौतिकवादी चिन्तनले पनि उस्तै प्रदुषण बढिरहेको छ । कसरी भन्नु होला भन्ने आजभोलि विकसित मुलुकमा ऊर्जा शक्ति वृद्धिको लागि आणविक शक्ति (निक्यूलियर एनर्जी) बाट चल्ने आणविक भट्टीहरू बढी से बढी निर्माण हुँदै जाँदा यसले प्रतिपादन गर्ने विकिरणले र अप्रत्यक्ष तापले अग्नी, वायुमण्डल तथा आकाश दुषित हुदै गएको कुरा सोचेको पाइँदैन ।
विश्वमा उद्योग धन्दाबाट निस्कने धुँवा धूलोको छुट्टै प्रदुषण छ । पञ्चतत्वको कारणले हामी यति प्रकृतिको नजिक हुँदा हुँदै पनि प्रकृतिलाई हामीले धेरै हेला गरेका छौं, दुःख दिएका छौं र च्यालेन्ज गरेका छौं । मनुष्यप्रति प्रकृतिको ठूलो देन छ र यसको हामीले सही संरक्षण गर्न सकेका छैनौँ । यो सबै अध्यात्मिक ज्ञानको अभावले नै भएको ठहरिन्छ । किनभने यसको राम्रो ज्ञान राख्न सकेको अवस्थामा प्रकृतिलाई हामी यतिविधि लापरवाही गर्दैनौ थियौं होला । मानिस जन्मेदेखि यही पञ्चतत्व लिई जन्मन्छौं, पञ्चतत्वमै बाँच्छौं र अन्त्यमा हामीले यही पञ्चतत्वलाई छोडेर जान्छौं । यस्तो प्रकृतिसँग हाम्रो गहन सुमधुर सम्बन्ध भएकोले हामीले प्रकृतिसित टाढा हुने होइन नजिकिनु पर्छ भन्ने सन्देश आध्यात्मिक ज्ञानले दिने हुँदा आध्यात्मिक विज्ञानसित भौतिक विज्ञान जोडिन अति आवश्यक छ ।
वास्तवमा भन्नुपर्दा भौतिक विज्ञान र आध्यात्मिक विज्ञानको सम्बन्ध नङ र मासु वा एउटा सिक्काको दुईपाटा सरहनै छ । हामीले गहन अध्ययन नगरेर मात्र हो । हामीले भौतिक विज्ञानको विकासको लागि धेरै खर्च गर्छौ तर यस्तो बहुमुल्य ज्ञान दिने आध्यात्मिक विज्ञान जसले भौतिक विज्ञानलाई सही बाटोमा ल्याउने र व्यवस्थापन गर्ने कार्य गर्छ त्यसको विकासको लागि त्यति महत्व दिएको पाइँदैन । अन्त्यमा भन्नुपर्दा आध्यात्मिक विज्ञानबाट मानिसले परोपकारी भावनाको विकास आत्मज्ञान, नैतिकता, सुख शान्ति र प्रकृतिलाई माया गर्नु पर्छ भन्ने ज्ञान आध्यात्मिक ज्ञानले दिन्छ । भौतिक विज्ञान मात्र पूर्ण विज्ञान होइन आध्यात्मिक विज्ञान पनि त्यतिकै परिपूरक विज्ञान हो भनी बुझ्न जरुरी छ ।
अझ भन्ने हो भने सबै किसिमको विज्ञानको नेतृत्व यसैले गर्छ भने पनि हुन्छ । किन भने यसले मानिसलाई आवश्यक वातावरण र समाजमा भएका विकृति तथा विसंगतिहरूलाई हटाउन धेरै मद्दत गर्छ । अध्यात्मले हामी मानिसले जीवन कसरी जिउनु पर्छ भन्ने जीवन जिउने कला सिकाउने शिक्षा भएकोले यसको धेरै महत्व छ । यसबाट बालक देखि वृद्धासम्मको लागि पनि राम्रो शिक्षा दिने भएकोले भौतिक विज्ञानको आफ्नो स्थान भए तापनि अध्यात्मिक विज्ञानले भौतिक विज्ञानलाई गलत बाटोबाट सही बाटोमा ल्याउन लगाउन पनि अध्यात्मिक विज्ञान यस भौतिक विज्ञानसँग जोडिन अति आवश्यक छ । यसरी नजोडिएको खण्डमा भौतिक विज्ञानले बाटो पहिल्याउन नसकि बाटो बिराई दुर्घटना हुने सम्भावना रहन्छ । यसलाई नियन्त्रण गर्ने कार्य आध्यात्मिक विज्ञानले नै गर्छ ।
अतः संसारमा केटाकेटीदेखि नै आफ्नो स्तर अनुसारको बुझ्ने हिसाबले समन्वय गरी जोडी तयार गरिएको पाठ्यपुस्तकहरू पाठ्यक्रममा समावेश गरी अध्ययन अध्यापन गराउनु पर्ने अत्यावश्यक मात्र नभई बढी जोडै दिनु पर्ने देखिन्छ । अन्त्यमा अध्यात्मको चेतना फैलाउन पुनः एक पटक नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) तथा त्रिभुवन विश्व विद्यालय अन्तर्गतको बायोटेक्नोलोजी विभागले यस्तो पवित्र किसिमको कार्यक्रम सञ्चालन गर्न सहयोग गरी सहप्रायोजन गर्नु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । यस्तो कार्यक्रमको उत्तरोरत्तर प्रगतिको समेत कामना गर्दछु ।
डिल्लीबजारहाल बिनायक कोलनी भैँसेपाटी, ललितपुर
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...