...

Friday 22nd June 2018

जे गरे कैलालीका मेयरले ठीकै गरे !

जब मान्छे अत्यन्त पीडित हुन्छ, बोल्ने शब्द हराउँछन् तब हास्य र व्यग्य रस प्रयोग गरेर केही लेख्छ, बोल्छ । त्यसैले होला संसारका हास्यव्यंग्य साहित्यका प्रवर्तक नै मानिने रुसी लेखक निकोलाई गोगोलले संसारलाई हँसाए तर आफूले आत्महत्या गरे । त्यो क्रम हम जायगादेखि नेपालका हास्यव्यंग्य साहित्यका शिखर सर्जक भैरव अर्यालसम्म आइपुग्यो । कहिले काहिँ तथ्यमा मात्र कलम चलाउने बोल्ने पत्रकारहरु
पनि पीडाका समाचार लेख्दा लेख्दा, अन्यायका कथाहरु पस्कँदा पस्कँदा जब आजित हुन्छन., थाहा पाउँछन् कि जसलाई त्यो सब नियन्त्रण गर भनेर सचेत बनाउन पत्रकारिता गरिरहन्छन् तिनीहरु स्वयम् नै त्यस्ता अन्यायका संरक्षक रहेछन् । अनि, तथ्य होइन व्यंग्य लेख्न पत्रकारका पनि कलम चल्छन् । त्यस्तै व्यंग्य हक्की पत्रकार नारायण पौडेलले गरेका छन् ।

उनले बोक्सीको आरोपमा कुटपिट घटनाका संरक्षक मेयरले ठीकै गरे भन्दै हृदयविदारक टिप्पणी गरेका छन् ।

व्यंग्यात्मक शैलीमा उनले हालसम्मका राज्यका चालक, सञ्चालक, शासक, प्रशासक, पार्टी र नेताहरु तथा पूर्ण रुपेण लोकतन्त्रको नाममा चलेको धनतन्त्र, ठालुतन्त्र र चोरतन्त्रका कारण नै यस्ता घटनाका संरक्षक स्वयम् विरोधीजस्ता देखिन्छन् भन्ने प्रष्ट पारिदिएका छन् ।

पस्तुत छ उहाँको फेसबुकबाट लिइएको उहाँका विचारहरु जस्ताको तस्तै ः

नारायण पौडेल

कैलालीका मेयर ममताप्रसाद थारुले बोक्सीको आरोपमा कुटिएकी राधाको रोधन सुनेनन् । सुनेर उनलाई फाइदा पनि थिएन । नसुनेका कारण बेफाइदा पनि केही भएको छैन । सामाजिक संजालमा दुई चार दिन कोकोहोलो मच्चिन्छ । आखिर हिसाव ममताप्रसादकै पक्षमा पर्नेछ ।

दुनियाँका नजरमा बदनाम भएपनि ममताप्रसाद स्थानीय स्तरमा नायक दरिने छन् । उनलाई नायक बनाउनका लागि राज्य संयन्त्र र राजनीतिक शक्ति तयार छ ।

अबको दृश्य यस्तो हुनेछ 
घोडाघोडीमा प्रहरी तैनाथ हुनेछन् । राधालाई बोक्सी करार गरी निर्घात कुटपीट गर्दा रमिते बनेका स्थानीय त्राहीमाम हुनेछन् । राज्यसंयन्त्रले सबैलाई एकै नाशले दोषीझैँ व्यवहार गर्नेछ । डरले हायलकायल स्थानीयको एकमात्र आशा ममताप्रसाद हुनेछन् । सुरक्षाको ओत बन्नेछन् ममताप्रसाद । ममताप्रसादको लबिङ केन्द्रसम्म पुग्नेछ । उप्परवाला आफ्ना भएपछि जेपनि सम्भव छ भन्ने कुरा मेयरसम्म भइसकेका ममताले नबुझ्ने कुरा भएन । बाहिर जे भनेपनि भित्र कार्यकर्ता बचाउनुपर्छ भन्ने कुरा चरीदेखि मनाङेसम्मलाई माया गर्ने प्रधानमन्त्री केपी ओलीलाई अरुले भनिरहनुपर्छ र ? समाज पछौडे छ, व्यक्तिविशेषलाई दोष दिएर कहाँ हुन्छ ? संसदमा सुनिइसकेको छ ।

राधामाथि गरिएको बर्बरता देखेर मन कुढिएकाहरुको मन बिस्तारै बिषायन्तर हुनेछ । समाजमा यस्ता घटना भइरहन्छन् । मनहरु तरंगितभ हुँदै गर्छन् । घोडाघोडीमा मात्र कति दौडियोस् सधैँ सबैको मन । केही दिनमा घोडाघोडी आमरुपमा ओझेल पर्नेछ । र, त्यही मौकामा पछौडेपनलाई कारक बनाउँदै ममताप्रसादलगायत सबैलाई उन्मुक्ति दिइनेछ ।

ममताप्रसाद समाजका नायक बन्नेछन् । दुनियाँले जे सुकै भनोस् सो समाजका लागि ममताप्रसाद अकाट्य नेता बन्नेछन् । यी नभएको भए हामी सब खोरमा हुन्थ्यौँ भन्ने भय र आश्था स्थानीयमा संचारित गराइने छ । अर्को पालीपनि एमालेले टिकट उनैलाई दिनेछ । स्थानीय तहमा जो लोकप्रिय छ उसैले टिकट पाउने निश्चित छ । आखिर भोट हाल्न अन्तको आउने होइन, हार्नेलाई टिकट दिन एमाले लाटो छैन ।

मानिलिउँ ममताप्रसादले बोक्सी काण्डमा राधाको पक्ष लिएका हुन्थे । उनले प्रहरी प्रशासनलाई बोलाएर दोषीलाई पक्रन लगाउँथे । परिणाम के हुन्थ्यो ? विपक्षीले गाउँलेलाई साथ दिन्थे । ममताप्रसाद एक्लिन्थे । उस्तै परे सामाजिकरुपमा बहिस्कृत हुन्थे । बहिष्करणमा परेका ममताप्रति पार्टीको समेत बक्र दृष्टि रहन्थ्यो । खेल आफ्नो विपक्षमा पार्ने गरी एमए पढेका ममताप्रसादले किन एक्ली राधाको साथ दिन्थे !

बोक्सीको आरोपमा राधा कुटिएसँगै अर्को एउटा दोकान चल्ने छ । राजनीतिकरुपमा समेत सक्रिय समाजसेवीको एनजिओ वा एनजिओहरु घोडाघोडीमा चलबलाउन थाल्नेछन् । बोक्सीका रुपमा महिलालाई बिम्बित गर्ने प्रवृत्तिका विरुद्धमा संस्थाले अभियान चलाउनेछन् । काठमाडौँ वा धनगढीमा बिशेष कार्यक्रम गरि प्रतिवेदन बुझाइने छ । यत्ति हो, बेलादेबीपुरको कथा फेरिपनि फरक शैलीमा भनिने छ ।

ममताप्रसादको बाध्यता बुझ्दिने प्रयास गरौँ । उनी समाजका खबरसँग बेखबर छैनन् । कैलालीकै बेलादेबीपुरमा पोहोर यही प्रकृतिको घटना भएको थियो । बोक्सी आरोपमा एक बृद्धाको मुखमा दिशा कोचियो, गुप्ताङ्घमा लाठी । गाउँका बडघरसहितका सो घटनामा सामेल थिए । काठमाडौँमा आतंक मच्चियो । केही दिन कोकोहोलो सुनियो । त्यसपछि के भयो ? भनिरहन नपर्ला । माथि जे दृश्य देखाइयो, त्यही देखियो त्यहाँ पनि ।

बोक्सीका नाममा पीडित किशोरी हुन् वा बृद्धा, अन्तिममा सोही समाजमा बस्नुपर्छ । उनीहरुलाई समाजसँग संघर्ष गर्न दीर्घकालिन शस्त्र र शास्त्र दिइन्न । अन्तिममा विषय मिलापत्र वा आत्मसमर्पणमा टुग्याइन्छ । राजनीतिक दललाई बोक्सीको आरोप खेपेकी एउटीको भोट नगन्य हुन्छ । सयौँ रमितेको भोटले निर्वाचनमा अर्थ राख्छ । कुरा अन्तिममा भोटको राजनीतिमा गएर टुँगिन्छ ।

त्यसैले ममताप्रसादले जे गरे ठीकै गरे ।
यदि यसो होइन भने, बोक्सी काण्ड, बलात्कार काण्ड आदिमा राजनीति नहेरियोस । दोषि माथि ममता नदर्शाइयोस् ।

Case Against ASI Karki

Kathmandu, What happens when an investigator for abuse of authority him or herself involves...

The Smallest Book Published

New Record in Literature book-work in Nepal Swagat Nepal Kathmandu, 13 March 2016 If...

Development-door Opens from North Border : PM Oli

Tika Ram ‘Neti’ Jhapa, 9 March 2016 Prime Minister K. P. Sharma Oli has...