...

Thursday 19th April 2018

पुस्तक हटियामा बुख्याँचा

– सुविद गुरागाई

‘हेलो !’
‘तैँले मेरो नाम लिँदै पत्रिकामा किन जे मन लाग्यो त्यही लेख्छस् ?’
‘को बोल्नु भो तपाई !’
‘तेरो बाउ !’
‘मेरो बाउ त म छ वर्षको हुँदा नै मरेका थिए ।’
‘अब तँ पनि मर्छस् !’
‘तर म त ८० वर्षसम्म सक्रिय जीवन बाँच्छु भनेर सोचिबसेको मान्छे हुँ !’
‘अब फेरि त्यसैगरी मेरो नाम लेखिस् भने ८० दिन पनि बाँच्दैनस् !’

यति भनेर उसले फोन राखिदियो । आवाज केही चिनेचिने जस्तो पनि लाग्यो तर यकिन गरेर भन्न सक्तिनँ ।

यो कुराकानी मैले मोबाइलमा रेकर्ड गरेको छु । तपाई चाहनुहुन्छ भने यसको एमपिथ्री अडियो साउन्ड सुनाउन सक्छु । ९८१०५५४४०० । उसको फोन नम्बर सेभ गरेको छु ।

एक–दुई पल्ट फोन गरी हेरेँ । तर, उठाएन । सम्भवतः ऊ मसँग कुरा गर्न चाहँदैन । मलाई मार्न चाहन्छ । र, त्यसका लागि समय पर्खिरहेको छ । योजना बुनिरहेको छ ।
म विस्मित छु, को हो त्यो जो मसँग यसरी अत्यन्त रिसाएको छ । मेरो लेखाइसँग चिढिएको छ । र, मलाई मार्न चाहन्छ ।
पक्कै फन्टुस फिक्सनको कोही पात्र हुनुपर्छ ।

०००
लेखन कुञ्जमा हरेक शनिबार पुस्तक हटिया लाग्न थालेको छ ।
हटियामा बुख्याँचा पात्रहरूको जगजगी छ ।

हेर्दा सर्लक्क मान्छे जस्ता लाग्छन् तर बुख्याँचा बुख्याँचा नै हुन् । बाहिर भयङ्कर लाग्छन्, भित्र केही न केही ।

त्यही भींडमा पहिलो दिन नै भेटिए कृष्ण अविरल ।
कृष्ण अविरल सेलिब्रिटी नाम हो । भित्रैदेखि आदर गर्न मन लाग्छ । तर, जम्काभेटमा कर्कलाको पानी भइदिए । छुद्रता छताछुल्ल भइदियो । हेर्दा–हेर्दै सैतान देखिए देवता ठानेका मानिस । दुर्भाग्य मेरो ।

रक्तकुण्ड पढेँ । लालचुडी पढेँ । लालचुडीले भित्रैसम्म मन छोएको थियो । साँच्चिकै हो जस्तो लागेको थियो । उहिले समाचारपत्रको परिशिष्टाङ्क सौगातको सम्पादन गर्दा मैले ‘कृष्णप्रसाद भट्टराईहरू’ शीर्षकका लागि छानेका पात्रहरूमध्ये कृष्ण अविरलको नाम निकै सम्मानसाथ उल्लेख गरेको थिएँ । तर, पछि बुझ्दै जाँदा उनी त्यति स्पेस दिनुपर्ने पात्र होइन रहेछन् जस्तो लाग्यो । त्यत्तिकै कालो ढुङ्गालाई शालीग्राम ठानिबसेको रहेँछु ।

मञ्जरी प्रकाशन खोलेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन छापेका छन् । पण्डित जगन्नाथ गुरागाईको गुणरत्नमाला छापेका छन् । एकपछि अर्को अनधिकृत कामहरू धमाधम गर्न थालेका छन् । अर्काको रचना छाप्न र बेच्न न कसैको अनुमति लिनुपर्ने न त्यसरी बेचेवापत कसैलाई लेखकश्व दिनुपर्ने । अदालतमा मुद्दा हाले पनि नलाग्ने । त्यसो त नेपालमा पनि प्रतिलिपि अधिकार कानुन छ । तर, कानुन बनाउनेहरूले बदमासी गर्न चाहनेहरूलाई प्रशस्त ठाउँ दिएका छन् । सिर्जना प्रकाशन भएको र सर्जकको मृत्यु भएको ५० वर्षपछि त्यस्तो कृति पब्लिक डोमेनमा जान्छ र त्यसको प्रयोग जसले पनि गर्न पाउँछ भन्ने लेखिएको छ । यही कानुनी दुलो समातेर भ्रष्टाचारको अँध्यारो गुफामा पसेका छन् अविरल । यसमा कानुनीभन्दा पनि नैतिकताको प्रश्न बढी छ । उनबाट नैतिकताको कति आस गर्ने नगर्ने त्यो विद्वान लेखक कविहरूकै जिम्मा ।

पछिल्लोपटक मञ्जरी प्रकाशनबाट मनु ब्राजाकीका गजलको किताब छाप्छु भन्दै लिखित सम्झौता गरेका रहेछन् अविरलले । ब्राजाकी जीवित छँदाकै कुरा हो यो । ब्राजाकीको निधनपछि एकदिन लेखन कुञ्जमा भेट हुँदा एक जिज्ञासु शुभेच्छुकको तहबाट जीवनपानीले सोधे, ‘मञ्जरी प्रकाशनबाट मनु ब्राजाकीको गजलको किताब कहिले छापिँदैछ ?’

सुन्नासाथ भरक्क भड्किहाले अविरल ।

‘छाप्दिनँ म त्यो । सम्झौता, पाण्डुलिपि जे छ सबै च्यातिदिए हुन्छ ।’
यस्तै छुद्र वचन बोले उनले । म साक्षी छु । जीवनपानी अक्क न बक्क भए । के बोल्नु के नबोल्नु ! यसले पो केही बोल्छ कि भनेर मतिर फर्केर हेरे ।

‘ओहो, किन यसरी उत्तेजित हुनुभएको अविरलजी ? यो त समाचार बन्ने प्रसङ्ग होला जस्तो छ । तपाई आफैँ पत्रकारिता बुझेको मान्छे । बिस्तारी बोल्दा, छलफल गर्दा पनि हुन्छ नि होइन र !,’ मैले अविरललाई शान्त हुन आग्रह गर्दै भनेँ ।
‘लेखिदिए हुन्छ समाचार । केही फरक पर्दैन,’ उनले यस्तै भने र जुरुक्क उठे । सरासर पुस्तक हटियाको भिंडमा हराए ।

त्यत्रो उचाइ चुमेको लेखक, प्रकासकको यो व्यवहार ? मैले कल्पना पनि गरेको थिइनँ ।

चोरबाटो हिँड्नेहरूसँग कसैगरी नसकिने । काँक्रा चोरलाई मुड्के सास्ती, यस्तै बेलामा काम लाग्ने उखान सम्झना हुन्छ ।

०००
म ब्राजाकीका दरपिया पार्टनर खोजी–खोजी हिँड्दै थिएँ । दारु खान होइन, दारुका बारेमा कुरा गर्न पनि होइन ।

बेस्ट सेलर कथाकार, गजलगो, संस्मरण लेखक मनु ब्राजाकी जीवित छँदैको सन्दर्भ हो यो ।

सर्वाधिक खोजी सूचीमा रहेका पात्रहरूमध्ये एक थिए चर्चित लेखक, पत्रकार, सम्पादक, टेलिभिजन प्रस्तोता किशोर नेपाल झुत्रे ।

पछिल्ला दिनमा बिरामीका कारण मनु ब्राजाकीको कलम सुस्ताइसकेको थियो । शारीरिक रूपमा पनि गल्दै गएका थिए । उनको जीवनका बारेमा शुभेच्छुकहरूका मनमा चिसो पस्न थालेको थियो । यस्तो पृष्ठभूमिमा म, विमल अधिकारी, सुनील पुरी र जीवन पानी मिलेर ब्राजाकीको जीवनकालमै उनको आत्मकथा (संस्मरण) र हामी शुभेच्छुकहरूको ब्राजाकी बारेका भनाइ समेटेर एउटा दस्तावेज तयार गर्ने सल्लाह भयो । नाम राखियो मनमौजी । मित्र रमेश पौडेलले कभर डिजाइन पनि तयार पारे ।

तर, मनु ब्राजाकीलाई नामको हिज्जे मन परेन । ‘मनमौजी नेपाली शब्द होइन, मनमोजी हो, त्यसैले किताबको नाम मनमोजी नै राख्नु पर्छ,’ ब्राजाकीको तर्क थियो । ‘मनमौजी नेपाली जनजीवनमा भिजेको शब्द हो, बोल्दा मनमौजी नै भनिन्छ, यही ठिक छ,’ हाम्रो प्रतिवाद थियो । तर, हामी नामको लफडामा अल्झेका थिएनौँ । नामका बारेमा पछि सोचौँला भनेर रचना सङ्कलन अभियानतिर लागेका थियौँ ।
त्यही सिलसिलामा हो मैले किशोर नेपाललाई खोजेको ।

महासागरले पनि त्यति मानिस डुबाएन, जति रक्सीले डुबायो । मेटास तासियोका शब्द ।

किशोर नेपालका बारेमा मैले सुनेको थिएँ, उनी रक्सी र सितनका बारेमा निकै उदार छन्, जस्तो पनि खाइदिन्छन् । मनु ब्राजाकी जस्तै । त्यसैले तँतँ–ममको स्तरमा उनीहरूको दोस्ती जमेको हुनुपर्छ ।

नेपाल राम्रो लेख्छन्, यसमा कुनै शङ्का छैन । युवादेखि अग्रज पुस्तासम्मले उनलाई पढ्छन्, यसमा पनि कुनै शङ्का छैन । पुतलीहरूप्रति उनको आकर्षण गजबको छ भन्ने पनि मैले सुनेको थिएँ ।

पच्चीसौँ पटकको फोन–सम्पर्कपछि बल्लबल्ल बत्तीसपुतलीको एउटा कफी रेस्टुरेन्टमा हाम्रो भेटघाट हुने तय भयो ।

मनु ब्राजाकीका अर्का दारु पार्टनर गजलगो ज्ञानुवाकर पौडेल दाइको पुररानो घरबाट गन्दै जाँदा त्यही साइडमा ३२ औँ नम्बरको घरमा रहेछ, त्यो रेस्टुरेन्ट ।
करिब आधा घण्टा कुरेपछि आए ।

उनी त्यहाँका नियमित ग्राहक रहेछन्, भेट्न चाहने मान्छेलाई प्रायः यहीँ बोलाउँदा हुन् ।

उनले कफी हुन्छ भनेर सोधे । मैले हुन्छ भनेँ ।
आइसब्रेकपछि मैले आफ्नो उद्देश्य बताएँ । मनु ब्राजाकीसँगको पहिलो भेटघाट र हिमचिमको सन्दर्भ सोधेँ ।

‘तपाईहरू उसलाई देवत्वकरण गर्न चाहिरहनुभएको रहेछ । म यस विषयमा केही कुरा बोल्न चाहन्न,’ उनले झर्केर भने ।

‘तैपनि दाइ मनु ब्राजाकीसँग जोडिएका संस्मरणहरू केही भनिदिनु न,’ मैले रेकर्ड अन गरेँ ।

‘मैले भनेँ नि देवत्वकरणलाई सहयोग पुग्ने म कुनै कुरा गर्न चाहन्न । यो रेकर्ड अफ् गर्नुस्,’ उनले थर्काए ।

खोदा पहाड निकला चुहा ।

‘मनु ब्राजाकी तपाईको साथी त हो नि,’ मैले क्षुब्ध हुँदै सोधेँ ।
‘हो, तर यो विषयमा मलाई कुनै कुरा गर्नु छैन । अरू नै कुनै विषय छ भने भन्नुस् । भेट्न खोज्नुभएको थियो, भेट भयो । कफी खानुस् । जानुस्,’ उनले रुखो स्वरमा यस्तै भने ।

तपाईलाई पत्यार लाग्दैन भने म यसको थोरै एमपिपिथ्री रेकर्ड पनि सुनाउन सक्छु । घटनास्थलको अलिअलि छेकछन्द रेकर्ड भएको छ ।

कफी लिएर आउने भाइ पनि उनको व्यवहार देखेर छक्क प¥यो ।

किशोर नेपाल कान्तिपुरमा हुँदा म समाचारपत्रको डेस्कमा थिएँ । मनु ब्राजाकीको उपन्यास ‘कान्छी बेगम’ सौगातमा धारावाहिक छाप्दै थिएँ । कान्छी बेगमको सफ्ट–कपी लिएर आउँदा वा अरू नै बेला पनि ‘कान्तिपुरमा मेरो साथी छ, किशोर नेपाल झुत्रे, ऊ राम्रो आख्यानकार हो, राम्रो लेख्छ,’ भनेर निकै अदपका साथ नाम लिन्थे । प्रशंसा गर्थे । किशोर नेपालको उपनाम झुत्रे हो भनेर मैले मनु ब्राजाकीले भनेपछि नै थाहा पाएको थिएँ ।

मलाई निकै छट्पटी भयो । कफी खाऊँ कि के गरुँ । जुरुक्क उठेर हिँडुँ कि ट्वाल्ल परेर बसिरहुँ । केहीबेर चुपचाप बसेपछि कफी खाने निधो गरेँ । खानेकुरासँग केको रिस !
कफी निकै कडा र तीतो थियो । झुत्रेको झुत्रो व्यवहारजस्तै ।

०००
प्रतीक प्रधानसँग मेरो त्यति लामो उठबस होइन । आदरणीय कथाकार दाइ परशु प्रधानका छोराका रूपमा चिन्थेँ । साहित्यकार दाइ शैलेन्द्र साकारका भतिजा प्रतीक पत्रकारिता पढेलेखेका राम्रा मान्छे हुन् भन्ने थियो । मनको एउटा कुनामा त्यही अनुरूपको अपनत्व, त्यही अनुरूपको आदर थियो ।
तर यहाँ पनि ढाकके तीन पात भइदियो ।

प्रतीक प्रधान नागरिक दैनिकको सम्पादक थिए । म त्यसैको पूर्वाञ्चल संस्करण पूर्वेलीको सम्पादन डेस्कमा थिएँ । इटहरीबाट दैनिक विराटनगर आऊजाऊ गर्थेँ ।
ती दिनहरूमा मलाई इटहरी छोडेर काठमाडौँ आउन निकै हुटहुटी लागेको थियो । परस्पर जिल्लान्तर सरुवाको कागजात नियमानुसार मिलाउँदै थिएँ । इटहरीको घर–जग्गा बेचिसकेको थिएँ । काठमाडौँमा, नैकापमा बस्ने हो भनेर नवराज लुइटेललाई एक लाख रुपियाँ बैना पनि दिइसकेको थिएँ ।

नागरिक पूर्वेली डेस्कबाट केन्द्रमै सरुवा हुन्छ कि भनेर प्रयास गरेँ । सम्पादक प्रधानलाई भेटेर भनेँ । उनले विश्वमणि पोखरेलतिर देखाइदिए । अख्तियारप्राप्त पोखरेलले मलाई काठमाडौँमा काम दिनेबारे कुनै रुचि देखाएनन् । अन्ततः मैले पूर्वेली डेस्कको काम छोड्ने निर्णयसहित राजीनामा–पत्र दर्ता गराएँ ।

कुनै पनि सञ्चार–संस्था छोड्दा काम गरेको अवधिभरिका लागि सम्पादकबाट थ्याङ्कस् लेटर लेखाएर लिने मेरो बानी छ । राजीनामा दिएसँगै सम्पादक प्रधानसँग थ्याङ्कस् लेटरका लागि अनुरोध गरेँ ।

‘हुन्छ, भोलि आउनू, म लेखेर राखिदिन्छु,’ उनले भने ।

भोलि गएँ । पत्र लेखेर राखिएको थिएन । कार्यकक्षअगाडि निकैबेर कुरेँ । प्रधान आएनन् । फोन गरेँ फोन उठाएनन् ।

पर्सिपल्ट फोनमा कुरा भयो । उनले पत्र लेखेर नागरिकमै काम गर्ने मेरा मित्र छत्र क्षितिजलाई छोडिदिने बताए ।

त्यसको भोलिपल्ट फेरि नागरिकको अफिस पुगेँ । छत्रले, सम्पादकले आफूलाई त्यस्तो पत्र नदिएको र त्यसबारेमा कुनै सल्लाह पनि नभएको बताए । झिँजो मान्दै फोन गरेँ । दुई पटक पूरा डायल गर्दा पनि प्रधानले फोन उठाएनन् ।

निकोर्सिपल्ट फेरि नागरिकको अफिस पुगेँ । प्रधान कार्यकक्षमै रहेछन् ।
‘दाइ ! खोइ थ्याङ्स लेटर त लेखिदिनुभएको रहेनछ ।’
‘केको हो यो ताकिता ! दिन्छु भनेपछि म आफ्नो समय मिलाएर दिन्छु । तपाई बाहिर जानुस् !’

आफ्ना लागि गेट आउटको नेपाली रूपान्तर प्रधानका मुखबाट सुन्नासाथ म छाँगाबाट खसेझैँ भएँ । नसोचेको आइलाग्यो । सारा मान–सम्मान, आदर–सत्कार, सकारात्मक भावना झ¥याम्झुरुम् भयो ।

०००
‘सुम्पेर स्वतन्त्रता
नचाहँदा–नचाहँदै
अरूद्वारा ठड्याइएको छु ।’
बुख्याँचा शीर्षकमा कवि बद्री भिकारी लेख्छन् –
‘म बुख्याँचा, गतिमान जिन्दगी सोच्ने गर्छु ।
थाहा छैन मान्छेहरू मलाई के सोच्दा हुन् ।’
०००

bisnuprasad.bg@gmail.com

Case Against ASI Karki

Kathmandu, What happens when an investigator for abuse of authority him or herself involves...

The Smallest Book Published

New Record in Literature book-work in Nepal Swagat Nepal Kathmandu, 13 March 2016 If...

Development-door Opens from North Border : PM Oli

Tika Ram ‘Neti’ Jhapa, 9 March 2016 Prime Minister K. P. Sharma Oli has...