...

Thursday 15th November 2018

नपढ्नुस् !

तपार्इँ यो कुरा पढ्नुभन्दा ठीक आधाको आधा सेकेण्ड अगाडि के सोचिरहनु भएको थियो ? त्यो कुरा कन्फर्म गरेर के सोचिरहेको थिएँ यो पढ्न लाग्नुभन्दा पहिले भन्ने आफैँ थाहा पाएर मात्र पढ्न थाल्नु होला । नत्र बुझ्नु हुने छैन। नत्र नपढ्नुस्,त्यसैले शीर्षक नै नपढ्नुस् ।

नपढ्नुस् ।

– स्वागत नेपाल
अहिले, यति नै बेला तपाईँ यो कुरा पढ्न छोड्नुस् र बाहिर बाटोमा निस्कनुस् ! बाटोमा निस्किएर हरेक मान्छे जो आआफ्नै तालमा हिँडिरहेका छन्, ती सबैलाई एकैछिन् रोक्नुस् र सोध्नुस्– अहिले भर्खरै तपार्इँ हिँडिरहँदा के साचिरहनु भएकोे थियो ?

तपाई पार्कमा बसिरहेका युवाहरूलाई सोध्नुस् । गाडी चलाइरहेका मान्छेहरुलाई सोध्नुस् । गाडी पर्खिरहेका पौढ वा युवायुवतिहरूलाई सोध्नुस् । कार्यालय जाँदै गरेका कर्मचारीहरूलाई, कार्यालयबाट फर्कंदै गरेका सेगाग्राहीहरूलाई सोध्नुस्, वा चौतारोमा थकाइ मारिरहेका बाआमाहरूलाई सोध्नुस् चौतारोतिर लाग्दै गरेका थकितहरूलाई सोध्नुस् । चौतारोमा डेटिङ्ग सकेर चौतारो छोडेकाहरुलाई सोध्नुस्, घरबाट बाहिर निस्कँदै गरेकाहरूलाई घरभित्र पस्दै गरेकाहरूलाई, सबलाई सोध्नुस्– तपाई अहिले भर्खरै के सोचिरहनुभएको थियो ?

दौरा–सुरुवाल लगाएकाहरू, कुर्ता–सुरुवालमा सजिएकाहरू । फेटा बाँधेकाहरू, धोती बेरेकाहरू । पङ्क शैलीका युवाहरू, ५० कटेका अग्रजहरू । भर्खरै देश सङ्कटमा फसेको चिन्ता ओकल्दै भाषण गरेर फर्केकाहरू । त्यही समाचार लेखेर घर आइपुगेका पत्रकारहरू जो सुकैलाई ऊ नितान्तएक्लै भएको बेला तपाई सोध्नुस्– ‘तपाई अहिले भर्खरै एक्लै के सोचिरहनु भएको थियो ?’
०००
‘तपाई अहिले भर्खरै एक्लै के सोचिरहनु भएको थियो ?’ पार्कमा एक्लै झोक्राइरहेको युवकलाई मैले सोधेँ ।

‘मैले प्रेममा धोका पाएँ,’ पार्कमा बसिरहेको एउटा युवकले भन्यो ।
‘ए, धोका नै भइसक्यो ?’ म थप जिज्ञासु भएँ ।

‘हो नि तपाई पत्याउनुहुन्न ! तर, म त आत्महत्या गर्ने अवस्थामा पुगिसकें !’ उसले मेरो शङ्का निवारण गर्न खोज्यो ।

‘चिन्ता नगर्नुस्, तपाईलाई प्रेममा धोका भएको होइन ।’ मैले उसलाई सम्झाएँ ।
‘किन?’

उसलाई आफूले पाएको धोका अरूले होइन भनेको सुन्दा रिस उठ्छ । म उसको रिसलाई जगाएपछि उसले आफ्नो स्वत्व थाहा पाएको बुझ्न सक्छु । रिसले जीवन प्रतिको आशा फर्काउन पनि सक्छ । आफ्नो कुरा ठीक हो भन्ने पुष्टि गर्न कस्सिएपछि आफ्नो मात्र होइन आफ्नो विचारलाई उसले माया गर्न थालेको म थाहा पाउँछु । मैले त्यो बुझेपछि, आफ्नो विचार बचाउनका लागि मसँग तर्क गर्न आउनेले आफूलाई बचाउन अब सक्छ भन्ने निष्कर्ष निकाल्छु ।

झन् रिस उठाउन भन्छु, ‘हावादारी कुरा गर्ने ? नभएको कुरा गर्ने ? तपाईले प्रेममा धोका पाएँ भनेको कुरा शतप्रतिशत गलत हो ।’

ऊ बुझ्न खोज्छ, ‘तपाईले भन्न खोजेको चाहिँ के हो ?’

‘पक्कै धोका भएको हो ?’ म फेरि सोध्छु ।

‘हो !’ उसको निराशा कायमै छ ।

तथापि म झन् निश्चित गरेर भन्छु, ‘त्यसो भए त झन् तपाईले प्रेममा धोका पाउनु भएकै होइन ।’

ऊ राम्रोसँग कुरा बुझ्न खोज्छ । भन्छु, ‘जुन परिस्थितिलाई तपाई धोका भनेर भनिरहनुभएको छ, त्यहाँ सुरुदेखि नै प्रेम थिएन । जहाँ धोका हुन्छ, त्यहाँ प्रेम हुँदैन । जहाँ प्रेम हुन्छ, त्यहाँ धोका हुँदैन । त्यसैले तपाई ढुक्क हुनुुस्, तपाईले प्रेममा धोका खानु भएको होइन । जहाँ धोका भयो त्यहाँ सुरुदेखि नै धोका थियो । त्यसैले धोकामा धोकै–धोका मात्र हुन्छ, तपाईले त्यो नपाएर के पाउनुहुन्छ त ? तपाईले प्रेम गर्न बाँकी छ । प्रेम पाउन बाँकी छ ।’

त्यति भनेपछि ऊ प्रेम होइन, सुरुदेखि नै धोका रहेछ भनेर फर्किएला । फर्कंदा बाटोमा के सोच्दै हिँडिरहेको होला ? हामी फेरि नसोधौं ‘तपाई अहिले भर्खरै एक्लै के सोचिरहनु भएको थियो ?’ उसले जे पनि भन्न सक्छ ।
०००
हो, भन्न सक्छन् मान्छेहरूले जे पनि ।

यदि तपाईले बाटो हिँडेका हरेकलाई रोकेर सोध्नुभयो भने भन्न सक्छन् कि जागिर सकियो आजदेखि, भोलिदेखि नयाँ जागिर हुनेछ, कम्पनी भाँडमा गयो, भव्य नाफा भयो, बढुवा होलाजस्तो छ, जागिर जालाजस्तो छ, जीवनमा नयाँ तरङ्ग आउने भयो, पुरानो दिन अब पुरानै हुने भयो । आदि–इत्यादि जे पनि भन्न सक्छन् तिनीहरूले ।

हो, तिनले जे सुकै पनि भन्न सक्छन् । तर, तिनीहरूले एउटै कुरा भन्ने छैनन् । सोधिहेर्नुस्, बाटो हिँडिरहेका सबैलाई, ‘तपाई भर्खरै केको बारेमा सोचेर हिँडिरहनुभएको थियो ?’

ती कसैले पनि म भर्खरै देशको बारेमा सोचेर हिँडिरहेको थिएँ भनेर जवाफ दिने छैनन् । यति भनेपछि आजको मेरो कुरा सकियो । तपाई अहिले नै यो पढ्न छोड्नुस् र बाटोमा गएर सोधिहाल्नुस्, हरेक मान्छेलाई कि तपाई अहिले भर्खरै के सोचिरहनु भएको थियो ?

यदि कसैले, एक जनाले पनि म अहिले भर्खरै देशको बारेमा सोचेर हिँडिरहेको थिएँ भनेछ भने अनि मलाई आएर भन्नुहोला । म पनि उसलाई भेटौंला र हामी सबै मिलेर उसलाई सम्मान गरौंला । ऊ सम्मानले गद्गद् भएर फुल्ला । सम्मानित बनेर भाषण छाँट्ला । व्यस्त बन्ला आफ्नो खास मनको कुराको बारेमा सोच्न पनि नभ्याउला । र, जब फेरि ऊ एक्लै केवल एक्लै भएर बाटो हिँड्दै गरेको होला नि ? हो, त्यही बेला फेरि सोध्नुहोला, ‘अहिले भर्खरै तपाई के सोचिरहनुभएको थियो ?’

उसले जवाफमा अरू नै केही भन्ने छ । र, भन्ने छ, ‘यो त मेरो निजी र खास समय हो, जुन समयमा म मेरो लागि सबैभन्दा प्रिय वा महत्वपूर्ण कुराका बारेमा सोच्न पाउँछु, स्वतन्त्र छु ।’ हो, तब थाहा हुन्छ सबैभन्दा महत्वपूर्ण र प्रिय कुराको बारेमा मान्छेले आफ्नो नितान्त निजी समयमा एक्लै भएको बेला सोच्ने गर्छ । त्यस्तो सबैभन्दा महत्वपूर्ण विषय अर्थात् सबैभन्दा बढी चिन्ता, खुसी वा चासो लागेको विषयमा आफ्नो समय जुन बेला ऊ एक्लै हुन्छ, त्यही बेला सोच्ने गर्छ ।

देशलाई गर्ने माया हावादारी गफ हो । त्यसैले सबैलाई बाटोमा रोकेर सोध्यो भने कसैले पनि देशको बारेमा सोचेर हिँडिरहेको थिएँ भन्दैन । त्यसैले सबैका लागि देशको चिन्ता हावादारी गफ मात्र हो ।

तर, म ‘युवाहरूले देशको माया गर्दैनन्, तिनलाई घरबाहिर डेरामा बस्दा होस् कि होस्टेलमा बस्दा, एक महिनामा जति पटक तिनका बाबा–आमाको सम्झना आउँछ, त्यो भन्दा सयौं गुणा सम्झना तिनका गर्ल–फ्रेन्ड वा वोई–फ्रेन्डको सम्झना आउँछ,’ मात्र भन्दिनँ । ‘तिनले एक महिनामा जति पटक तिनका बाबा–आमालाई फोन गर्छन्, त्योभन्दा सयौं पटक बढी गर्ल–फ्रेन्ड वा वोई–फ्रेन्डलाई फोन गर्छन्,’ पनि भन्दिनँ । ‘तिनलाई तिनका बाबा–आमाको माया लाग्दैन र माया लाग्छ भन्नु हावादारी कुरा मात्रहो,’ भन्ने पक्षमा पनि छुइनँ म ।

बाटो हिँड्दा, लेख्दा, पढ्दा जसलाई नजिकैको वन वा पार्कको मात्र सम्झना आउला, उसले जति बेला पनि बाबा–आमाको बारेमा सोचेर नहिँड्ला । अरू नै कसैलाई सोचेर हिँड्ला तर बाबा–आमाको माया लाग्दैन भन्न त्यतिका आधारमा कसरी सकिन्छ ? तथापि, युवाहरू भन्छन्, ‘माया गर्छु भनेर मात्र हुन्न, माया गरेको देखिनु पनि पर्छ ।’
त्यसो भए, खोइ त देखिएको देशलाई गरेको माया ? नत्र तपार्इं बाटो हिँडिरहेका हरेकलाई सोध्नुस्, अहिले तपाई केको बारेमा सोचेर हिँडिरहनु भएको थियो भनेर ? देशको बारेमा भन्दैन कसैले ।

यदि तपाईलाई ‘मान्छेहरू देशको माया गर्छु भनेर गफ मात्र दिन्छन्,’ भनेर मैले भनेको कुरा सही होइनजस्तो लाग्छ भने तपार्इं अहिले नै यो पढ्न छोड्नुस्, र छेउछाउमा जो भेटिन्छ उसलाई सोध्नुस्, ‘तपाईलाई देशको मायालाग्छ ?’ लाग्छ भन्यो भने फेरि सोध्नुस् त्यसो भए मैले यो प्रश्न सोध्नुभन्दा पहिला तपाईँ के को बारेमा सोचिरहनु भएको थियो ?

उसलाई मात्र होइन पाठकबृन्द ! तपाईँ आफैँले आफैँलाई सोधिहेर्नुस् तपाई यो लेख पढ्न थाल्नुभन्दा पहिला के को बारेमा सोचिरहनु भएको थियो ?
०००

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...

राजदूत : नियुक्ति मात्रै राजनीतिक, पद सरकारी

राजदूत : नियुक्ति मात्रै राजनीतिक, पद सरकारी सरकार परिवर्तन भएपछि राजदूत परिवर्तन हुने भएकोले...