...

Wednesday 19th September 2018

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल

तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका लागि नेपाली महावाणिज्यदूत !  तर, महावाणिज्यदूत भाइले आफ्नो बेग्लै पहिचान नभएको र सधैँ दाइको नामले मात्र चिनिनु परेकोले पहिचानकै संकट परेर इर्ष्या हो कि घमण्डले हो, आफ्नै दाइको हत्या गरेर आफू कसैको भाइ मात्र होइन, मेरो बेग्लै आफ्नै अस्तित्व छ भन्ने प्रमाणित गर्न दाइको हत्या गर्ने चेतावनी दिन सक्छन् ।

यस्तै भएको छ, दाइ दुबसु क्षेत्री अर्थात् दुर्गा बहादुर सुवेदी क्षेत्री हाल बेलायतका लागि नेपाली राजदूत हुन् भने भाइ कृसु क्षेत्री अमेरिकाका महावाणिज्यदूत ।

आफ्नो बेग्लै पहिचान खोज्दै कृसुले आफैँले लेखेरै भनेका छन् : सावधान दुवसु म मेरो पहिचान खोज्न हिँडेको छु /याद गर दुबसु/अब तिम्रो चाँडै हत्या हुन सक्छ/र/ हत्यारा हुनेछु म/अर्थात् दुबसुको भाइ !

उनले लेखेका छन् :  म जन्मने बित्तिकै/कसैको छोरा  भएर चिनिन सकिनँ/गुमाएँ मैले बुबाआमाको नाम/र पाएँ नयाँ नाम दुबसुको भाइ/ स्कुल पढ्न गएँ/शिक्षकहरुले दुबसुको भाइका रुपमा चिनँ/मेहेनत गरेँ/अब्बल नतिजा ल्याइरहेँ/तर मलाई औंल्याउँदै भन्न थाले/ऊ दुबसुको भाइले पनि दाजुजस्तै पढ्न थाल्यो

कलेजको पहिलो दिन/कक्षाकोठाको एउटा कुनामा चुपचाप बसिरहेको थिएँ/एक्कासि प्रिन्सिपल आएर भने/यो क्लासको सौभाग्य/दुबसुको भाइ हाम्रो विद्यार्थी भएका छन् / मन अमिलो भइरह्यो ।

राजधानीका प्रसिद्ध अबबारहरुमा छापिन थालेँ/अनि देशका कुनाकुनामा छाउन थालेँ/एकदिन पिपल बोटमा सुनेँ/दुबसुको भाइ पनि राम्रो कवि रहेछ-

राजनीति गर्न थालेँ/पुराना नेताहरुले सहजै स्वीकारे/दुबसुकै भाइ भएको कारणले /अवसर पाउँदा छाडिदिएँ र खोजेँ नयाँ बाटो ।

बैंकमा जागिर खाएँ/खजाञ्ची पैसा थन्क्याउँदै रहेछन् /मतर्फ फर्कँदै भने/तपार्इँ दुबसुको भाइ हैन ?

छादिडिएँ बैंक र पछ्याएँ दाजुकै पदचाप/परराष्ट्र आएसँगै/नाम मात्रै हैन गुमाएँ आफ्नो अनुहार पनि/बर्मा गएँ दुबसुकै भाइ भएर ।

जन्मँदा/हुर्कँदा/पढ्दा/कविता लेख्दा /राजनीति गर्दा/नाम हुँदा/गुमनाम हुँदा/बदनाम हुँदा

गाउँ छँदा/सहरमा रहँदा/स्वदेशमा हुँदा/विदेशमा हुँदा

जहिले पनि दुबसकै भाइको/उपमा लिएर बाँचेको छु/खोइ मेरो आफ्नो नाम , खोइ मेरो आफ्नो पहिचान ?

सावधान दुवसु ! म मेरो पहिचान खोज्न हिँडेको छु/याद गर दुबसु/अब तिम्रो चाँडै हत्या हुन सक्छ/र/हत्यारा हुनेछु म/अर्थात् दुबसुको भाइ ! (कृसु क्षेत्रीको नयाँ कविता संग्रह चराको गीत कविता शीर्षक पहिचानको खोजी, पृष्ठ ११०)

कुनै कुनै अपराध कथाहरुमा, मैले आफैँ हेरेका केही मुद्दाहरुमा विना कुनै कसुर कसैको हत्या भएकोमा बिस्तारै अनुसन्धानबाट खुल्दै जाँदा आफूमाथि सधैँ हावी बनिरहने व्यक्तिको उसकै प्रियातिप्रिय व्यक्तिबाट केवल आफू एक्लै पनि आफ्नो चरमा उभिन सक्छु भन्ने देखाउन हत्या भएका उदाहरणसँग मैले साक्षात्कार गरेको छु । उनीहरुसँग कुरा गरेको छु । तर कृसु क्षेत्रीजस्तो अमेरिकाका लागि नेपाली महावाणिज्यदूत भइसकेको मान्छेले कसरी यस्तो भन्न सक्छ ? मैले हेरेका मुद्दाहरुमा मानसिक विक्षिप्तता भएका व्यक्तिहरुले यस्ता घटनाहरु गराएका छन् । तर, के ऊ मानसिक विक्षिप्तताबाट गुज्रिएको व्यक्ति हो ?

अनि कसरी एउटा महावाणिज्यदूतजस्तो उच्च आर्थिक कूटनीतिक जिम्मेवारी बोकेको व्यक्तिले मलाई मेरो देशको नागरिक भएर चिनिनु छैन भन्न सक्छ ? कुनै पनि राष्ट्रकै कूटनीतिक जिम्मेवारी लिएको व्यक्तिले मलाई मेरो देशको नागरिक भएर चिनिनु छैन भन्न कसरी सक्छ ? मिल्छ ? के ऊ विक्षिप्त भइसकेको व्यक्ति हो ?

हो, कृसुले भनेको छ सीधै : ए सीमाका प्रहरीहरु ! समाइदेऊ मलाई/बनाइदेऊ बन्दी/मलाई चिनिनु छैन/मेरो देशको नागरिक भएर/रहर छैन मलाई/खालीपेट आदर्शको पाठ पढिरहने/ढुंगा चबाएर कुरुम कुरुम/

छैन मलाई अनागरिक बन्नुको पीडा/अहँ हुनेछैन मलाई देश गुमाउनुको पीडा ।  (कविता संग्रह चराको गीत, कविता शीर्षक अनागरिक हुनुको अर्थमा, पृष्ठ ८७)

कुनै कूटनीतिज्ञले किन यस्तो भन्छ, के उसमा होस् हवास् छैन ? कि उसले अमेरिका पुगेर सबैथोक भुलेर ‘मलाई मेरो देशको नागरिक बनेर चिनिनु छैन अब’ भनेको हो, मेरो देशको नागरिक भन्ने बित्तिकै दुबसुको भाइ भनेर चिनिनुपर्छ भनेर त्यसो भनेको हो ? अमेरिका पुगिहालेँ अब मेरो देशको नागरिक भनेर चिनिइनु छैन भनेको हो भनूँ भने पनि अमेरिकै पुगेर त्यही अमेरिकाको स्ट्याचु अफ लिबर्टीलाई र अमेरिकालाई नै सत्तोसराप गर्छ फेरि । जुन गालीका कारण अमेरिकाले उसलाई जुनसुकै बेला एउटा कूटनीतिज्ञ भएर सोझै सोझै अमेरिकाको पहिचानको स्तम्भ र पूरै अमेरिकालाई गाली गर्यो भनेर तत्कालै देश छोड्ने आदेश पनि दिन सक्छ । यस्तो जान्दा जान्दै ऊ अमेरिकाको स्मारक र अमेरिकाको तेजोबध हुने गरी यस्तो भन्छ भने ऊ अलिअलि खुस्एिकै मान्छे हो कि ! जस्तो कि ऊ भन्छ स्ट्याचु अफ लिबर्टीलाई पनि- रंगका आधारमा /भाषाका आधारमा/क्षेत्रका आधारमा/धर्मका आधारमा विभेद गर्छ/र भिराउँछ अर्थहीन बिल्लाहरु/नानीका लागि पठशाला बनाउन छोडेर/ बन्दीगृहहरु थपिरहन्छ /लिंकन मार्टिन लुथरलाई/वर्षौपछि दाहसंस्कार  गर्दै/खुट्टामा जीपीएस लगायत/नवीन दासहरु जन्माउँछ ।  ( चराको गीत, कविता शीर्षक स्ट्याचु अफ लिबर्टीमा एक शरणार्थी, पृष्ठ ८१)

अमेरिकाको विरोध गर्नु यत्ति कडा शब्दमा लेखेरै त्यसमा पनि एउटा अमेरिकाकै लागि कूटनीतिज्ञ हुँदाहुँदै कसैले सक्दैन तर कुसुले जस्तो भन्न तर कृसुले सक्छ । अरुलेजस्तो बाहिरबाहिर बसेर, अमेरिका जान नपाएर होइन, अमेरिका भित्रै सगौरव छिरेर उसकै देशमा उसैलाई भन्न सक्छ ‘तँ संसारको सबैभन्दा मानवअधिकार विरोधी होस्, तँ संसारको सबैभन्दा जातिहत्यारा होस्, तँ अरुलाई धर्मनिरपेक्षता सिकाउँदै संसारमा सबैभन्दा धर्मभीरु धार्मिक विभेदक होस्, तँ भाषिक पीडक होस् र तँ आफैँ स्वतन्त्रताका नाममा पिँजराहरु र जञ्जिरहरु बनाउँदै हिँड्ने नयाँ दासहरु जन्माउने देश होस् ।’

एउटा कूतनीतिज्ञले यसरी अमेरिकामै महावाणिज्यदूत भएर कसरी यस्तो भन्न सक्छ ?  हो, सक्तैन कसैले । अरु बाहिरबाहिर बसेर विरोध गर्छन्ऊ,  जसको विरोध गर्नुछ उसकै कित्ताभित्र छिरेर विरोध गर्छ । कृसुले सक्छ, किनकि ऊ कूतनीतिज्ञभन्दा बढी कवि हो ।

उसले दाजु मार्छु भन्न सक्छ । फेरि कहिले उही दाजु दुबसुका बारेमा कृसु यस्तो भन्छ – आगोको खोजी गर्दैथिए  अन्यायमा अभ्यस्त मान्छेहरु/बन्धनका विरुद्धमा/विसंगतिका विरुद्धमा/स्वर्गबाट आगो चोरेर ल्यायो दुबसुले ।

उज्यालोको खोजी गर्दैथिए/अँध्यारोमा रमाउने मान्छेहरु/अनास्थाको विरुद्धमा/एउटा महाभिनिष्क्रमण यात्राका सुरु गर्यो दुबसुले/आस्थाको खोजी गर्दैथिए/गन्तव्यहीन भीडजस्ता मान्छेहरु/अशान्तिका विरुद्धमा/असुरक्षाका विरुद्धमा/कुरुक्षेत्रमै सारथी बनेर गीता बाचिरह्यो दुबसुले ।

कहिले प्रमिथस/कहिले सिद्धार्थ/त/कहिले कृष्ण बनेर/मेरो गाउँलाई जोगाइरह्यो दुबसुले । (चराको गीत, कविता शीर्षक दुबसु क्षेत्री, पृष्ठ ५५)

यसरी एकैछिनमा मार्छु मेरो पहिचान स्थापित हुन नदिने दाजु दुबसुलाई भन्ने कुसु किन फेरि दाजुका बारेमा यति धेरै प्रशंसा गरेर बोल्न थाल्छ ? हो, थाल्छ, किनकि ऊ कवि हो । कवि कृसु क्षेत्री । आफ्नो नयाँ कविता संग्रह चराको गीतमा साँच्चै चराजस्तै गाउँछन् । मान्छे बाहेक चरा मात्र हो गीत गाउने जीवात्मा । गोरु भैंसीहरु गीत गाउँदैनन् । चराहरु रमाइलोमा गीत गाउँछन् । तर, गाई गोरु राँगा भैंसी रमाइलोको उद्घोषण गर्दैनन्, बुर्कुसी मात्र मार्छन् । दुःखमा चाहिँ आवाज निकाल्छन् । चरा सामान्यतया दुःखमा आवाज निकाल्दैनन् तर खुसीमा कराइहाल्छन् । गाइबस्तुहरु खुसीमा आवाज निकाल्दैनन् दुःखमा कराइहाल्छन् । कृसुको चराको गीतमा एउटा सुमधुर विरोधाभाष छ चराहरु गाउँछन् तर दुःखका गीतहरु । कृसु क्षेत्रीको चराको गीत कविता संग्रहका कविताहरु साइबेरिया क्षेत्रका उद्विलाप चरा जो जन्मेदेखि नाचेको नाच्यै गरेर मर्छन्, त्यस्ता मात्र होइनन् दुःखको गीत पनि मधुर स्वरमा गाइरहन्छन् ।

अरु सबैले देख्दा रमाइलो छ कृसुको जीवन, दैनिकी, घर व्यवहार सबै सबै । तर, प्रवासमा छँदा गाँसमा खसेको आँसु त्यहाँको समुद्रको पानी र नुनभन्दा पनि कति अमिलो छ उसैलाई मात्र थाहा छ । यति नुनिलो छ कि उसैको पसिनाभन्दा अझ बढी नुनिलो छ । त्यसैले कवि कृसु भन्छन्-

प्रवासको दशैँमा

नुनभन्दा नुनिलो हुनेरैछ

आफ्नै आँसु   (चराको गीत, कविता शीर्षक प्रवासको दशैँ, पृष्ठ ७६)

एउटा कुरा भनुँ प्रिय कवि कृसु ! हामी छोराछोरीले स्कुल फि तिर्न नसकेर अर्काको घरमा बसेर समेत अनेक काम गर्दै पढ्न नसकेर त्यो बेला ममाथिको दाजु घनश्याम नेपाल त्यो बेलाको एम कम पढाइ पूरा पनि गर्न समेत नसकेर, काम पनि केही नपाएर ऋण तिर्नको लागि कमाउन वैदेशिक रोजगारीका क्रममा दुबाइको गल्फ न्यूजमा काम गर्दै गर्दा दशैँको दिन मसँग फोनमा गरेको कुरा सम्झेर तपाईँको यो कविताका हरफहरुले मेरो गला अबरुद्ध भयो । मैले सबैजसो कविताका हरेक हरफ दोहोर्याएर पढेँ ।

मेरो दाजु पनि कविता लेख्नु हुन्थ्यो, अझै पनि लेखेर डायरीभित्रै बन्द गर्नु भएको छ । प्रकाशित छैनन् पुस्तकाकार र कुनै पत्रिकामा पनि । अनि सम्झिएँ कवि कृसुका यी हरफहरु मेरो दाजुले आफ्ना कविता आफैँ जलाएजस्तो –

सन्नाटा छ सन्ध्यामा सुनिदैन संगितको स्वर
कविहरु जलाउँदै आफ्ना कविता
रमाउँदैछन् आगोको तापमा
चित्रकार कोर्दैछन् बुँख्याँचाका वीभत्स चित्रहरु
जहाँ पोतिएको छ आलो रगतका कुरुप रंगहरु ।  (चराको गीत, कविता शीर्षक पुनरागमनको प्रतीक्षा, पृष्ठ ६३)

मैले पटक पटक तुलना गरेँ दुबसु दाइ र मेरो दाजुलाई फरक फरक प्रसंग छन् तर पनि । बुबाले जिम्मेवारीबाट आफू विभिन्न कारणले अलग्गिनु भएपछि मेरो दाजुले मेरो लागि गर्नु भएका प्रयासहरु । घरको जेठो बाठो भएर आमाले गर्नु भएका संघर्षमा दिनुभएको साथ । त्यसैवीच एउटा त्यो बेलाको एमकम अहिलेको एमविएको ब्रेन ड्रेनलाई पनि यसरी तपार्इँको पुनरागमनको प्रतीक्षा शीर्षक कवितामा मैले मेरै घरमा बसेर म भएर तपार्इँले मेरो कविता लेखिदिएजस्तो लाग्यो । म के भनौँ ! ब्रेन ड्रेन भोगिरहेको गाउँबाट माया छ कृसुलाई यी हरफहरुका लागि कि उसले गाउँलाई झन् नजिकबाट हेरिरहेको छ, विदेशैविदेश नेपालको जिम्मा लिएर जहाँ पुगे पनि-

अभावको सारंगी रेटेर उस्तरी नै टोलाइरहेछ बर्तमान्
भ्यागुत्ता छलांग मार्न नसकेर सरिसृप गतिमा छ भविष्य
फैलन नसकेका बोधिवृक्षका जराहरु
र, झांगिदै गएका विषवृक्षका पालुवाहरु हेरेर
अनि खडेरीले धाँजाधाँजा परेको खेतमा उभिएर
असारे गीत कसरी गाउलान् किसान
घुम ओडेर बाउसेसँग प्रीतिको साइनो कसरी लाउलान् रोपाहार (चराको गीत, कविता शीर्षक पुनरागमनको प्रतीक्षा, पृष्ठ ६३)

जहाँ पुगे पनि कवि कृसुले देश देखिरहन्छ, हेरिरहन्छ । देश मात्र होइन ईश्वर पनि कृसुको दृष्टिविन्दुमा समावेस हुन्छ यसरी- ईश्वर खोज्दै हिँड्ने मान्छेहरुको भीडमा कि

मैले भगवानलाई टाढासम्म पछ्याइरहेँ
तर अदृश्य भगवान
मेरै सामु उभिएको थियो
रुख भएर ।  (चराको गीत, कविता शीर्षक  रुख पृष्ठ ६१)

कवि कृसुका कविताहरुले मलाई यस कारण तानिरह्यो कि जहाँ पनि प्राय मैले मेरो विगत भेटेँ उसका पीडाहरु भित्र । कस्तो ठ्याक्कै उस्तै गरी मिल्न सक्छ पीडाको अनुवाद उही उही पृष्ठभूमिमा । दुःखमा संघर्ष गर्ने मान्छेले आँसु बगाउने र रुने फुर्सद पाउँदैन, सायद त्यो फुर्सद कृसुलाई पनि भएन मलाई पनि भएन, कृसुका दाजु दुबसु दाइलाई पनि भएन , मेरो दाजु घनश्यामलाई पनि भएन, न त मेरो भाइ टीकाराम नेतिलाई नै भयो । त्यसैले कहिल्यै हामीले हाम्रो छिमलको कृसु र कृसुहरुले पाएनन् कहिल्यै व्यस्त संघर्ष वीच आँसु बगाउने समय पनि । ती दिन सम्झेर अहिले बरु बेला बेला आँसु झर्छन् । त्यसैले कृसु भन्छन्– दुःखमा भन्दा सुखमा ज्यादा बग्दो रहेछ आँसु ।  (चराको गीत, कविता शीर्षक नीलो आँसु, पृष्ठ ५९)

म कृसुका कविताका हरफहरु पढेर झसंग हुन्छु कसरी कृसु हरेक साँझ विहान मलाई थाहै नभई खाना खाने बेलामा हाम्रो भान्छाको कुनै कुनामा सुटुक्क पसेर हामीले थोरैतिनो बाँडीचुँडी खाएको हेरिरहेको हुँदो रहेछ र यस्तो ठ्याक्कै हाम्रै भान्साभित्रको दृश्य लेखेको रहेछ उहीबेला
आफ्नै भाग काटेर
आफ्नै थाल रित्याएर
बुबाआमा
हाम्रो पेट भरिरहनुहुन्थ्यो हरदम
अभाव थियो
तर भोकको गुन्जाइससम्म थिएन
सानो पराले झुपडीमा समसाँझै निदाउँथ्यौँ
चिन्तारहित (चराको गीत, कविता शीर्षक नीलो आँसु, पृष्ठ ५८) यस्तै थियो हाम्रो घरमा पनि खासगरी एउटा पढ्नका लागि संघर्षपूर्ण दिनहरु कटाएका बखत ।

विश्वका धेरै देशमा राष्ट्रगानमा मातृभूमि शब्दको सट्टा पितृभूमि अर्थात् फादरल्याण्ड शब्द प्रयोग भएका छन् तर पिताका बारेमा कविताहरु साह्रै थोरै लेखिएका छन् तर कवि कृसु बुबाको महत्तालाई सफलतापूर्वक सुक्तिमयताका साथ स्थापित गर्छन्-  अवकाश हुन लागेको प्यारो शिक्षक हो बुबा   (चराको गीत, कविता शीर्षक  बुबा : एक सारथी  पृष्ठ ४७भनेर । साँच्चै त्यो हरफ पढेर बुबालाई हामी जहाँ भए पनि एक पटक फोन गरिहाल्न मन लाग्ने र बुबा नहुनुहुनेहरुको लागि मन अमिलो बनाइदिने गरी लेख्छन् :

हतारमा आँखा बन्द गरेर्झैँ
जेब्राक्रसबाट सडक पार गर्न खोज्थेँ
ट्राफिकलाईटको संकेत बिनै
एकनास मृत्युको शंखघोष गर्दै
गाडीका हर्नहरुले तर्साइरहन्थे
अनायास बुबा
मेरो हात समात्नुहुन्थ्यो
र, पार गराइरहनुहुन्थ्यो
जीवनका अनगिन्ती मोडहरु
यस्तो लाग्थ्यो
चुपचाप ठडिएको ट्राफिक बत्तीझै
दुर्घटनाबाट बचाउने
अनुभवी ट्राफिक हो बुबा
सडकबीच उभिएको ।  (चराको गीत कविता शीर्षक बुबा एक सारथी कविता पृष्ठ ४८)

चराको गीत कविता संग्रहका सबै कविता पढ्दा कृसुका कविता पढेजस्तो कसैलाई लाग्दैन । सबैले आफूलाई, आफ्नो परिवारलाई, आफ्ना दाजु, भाउजु, छोराछोरीहरुसँग साक्षात्कार गर्छन् । कवितामा एकपटक संसारको जुन कुनामा भए पनि आफ्नो देश र गाउँघर पुग्छन् । परिवारका सदस्यहरुलाई बिम्बमा धेरै माया लागेर, एकदमै सुन्दर लागेर माया र आकर्षण खप्न नसकेर सानो बच्चाको वा साथी संगीको गाला चिमोटेजस्तो गरेर चिमोट्छन् कृसु तर नबुझ्नेले मार्न खोजेको ठान्छन् ।

आफूलाई मनमै भएको कुरा, आफ्नै मनले खोेजेको कुरा कसैले प्रेमपूर्वक दियो भने, आफूलाई जे भनिदिओस् भन्ने लागेको हुन्छ त्यही शब्द प्रयोग गरेर जिस्क्यायो भने ‘अहिले मारिदिन्छु अनि’ भन्दै सानी नानी छोरीले भनेजस्तो कृसु आफ्ना प्रियपात्रहरुलाई यति धेरै माया दिनेलाई मायाले मारिदिन्छु भन्छन् । साँच्चै नबुझ्नेहरुले अर्कै बुझ्छन् । यो मेरो दृष्टिकोणको शुरुमा उठान गरिएको पहिलो अनुच्छेद र शीर्षकको आशय पनि त्यही मात्र हो ।

संग्रहमा प्रमिथस, आमा, श्रीमति भाउजु रीता, दाजु, बुबा, छोराहरु हिमांसु कृसांसु असान्दर्भिक रुपमा आएका छैनन्, ती पात्र वास्तविक जीवनका हुन् जस्ता पनि लाग्दैनन् । ‘कविता गाउँमै छ दाजै’ जस्तै कविता घरभित्रै रै छ दाजै भन्न मन लाग्छ । कवितामा कवि कृसुका बुबाले र दाजुले गीता बाचिरहेको प्रसंगहरु आउँदा मैले वास्तविक जीवनमा मेरा छोरीहरुलाई गीता पढाइरहेको र तिनै प्रसंगमा कुरा गरिरहेको पनि सम्झिरहेँ ।

संग्रहका सबै कविता प्रिय लागे तर तीमध्ये पनि सबैभन्दा प्रिय चाहिँ मलाई पहिलो कविता नै ‘आमा’ नै लाग्यो । सबैभन्दा अन्तिम अनुच्छेद पढेर मात्र केही नुबुझिने सबै अनुच्छेदसँगको अन्तिम अनुच्छेदको अकाट्य सम्बन्ध स्थापित गरेर कविता पूरै नपढुञ्जेल सन्देश अत्यन्त सुक्ष्म भए पनि टापटिपे पाठकले बुझ्न नसकिने बुनोटमा कविताको रचना गर्नु कवि कृसुको विशेषता बनेको छ यो संग्रहमा ।

कविताका हरेक अनुच्छेदको सम्बन्ध गजलमा हरेक शेर स्वतन्त्र भइकन पनि अन्तरसम्बन्धित भएजस्तो मात्र होइन, कृसुका कवितामा अनुच्छेदहरु अकाट्य बनाउन सक्ने कला वास्तवमै उपमेय छ नेपाली कविताको विकासक्रममा । उनको वैशिष्ठ्य नै यो संग्रहले त्यसरी स्थापित गरिदिएको छ । कविताको संरचनागत वैशिष्ठ्यका आधारमा कवि कृसु त्यस्तो पहिलो कवि हुन् जसका कविताका हरेक अनृुच्छेद बेग्लै अध्ययन गरेर होइन, पूर्णलाई एक ठाउँमा राखेर मात्र अन्तिम अनुच्छेद पूर्ण हुन्छ । नत्र संसारभर कविताको मुख्य विशेषता हालसम्म जहाँबाट शुरु गरेर जहाँ अन्त्य गरे पनि हुने प्रवृत्तिगत गुण भएको रचना नै कविता हो भन्ने बुझिन्थ्यो । तर, उनले त्यो संरचनागत प्रवृत्तिलाई भत्काएका छन् । अब कविताका समालोचक समीक्षकहरुका लागि उनले एउटा नयाँ होमवर्क दिएका छन्- के कविता जहाँबाट शुरु गरेर जहाँ अन्त्य गर्दा पनि हुने विषय हो ? अरुले नमिले पनि कवि स्वयमले पनि आफैँ रचना गर्दा पनि जहाँबाट मन लाग्यो त्यहीँबाट लेख्न शुरु गर्दा बेसुरको कथन कवितालेखन हुनसक्छ ? लेखन-योजना संरचनागत रुपले पनि हुनुपर्छ कि पर्दैन ? भावनात्मक योजना मात्र भएर हुन्छ कविका लागि कविता हुनलाई ? उनले यी प्रश्नहरु आफैँ उठाएर आफँ जवाफ दिएका छन् कि कविता जहाँसुकैबाट लेख्न शुरु गरेर हुन्न । कविताको योजना हुन्छ । अनुच्छेदहरु वीच अन्तरसम्बन्ध अकाट्य हुनुपर्छ । उनका रचना मान्यता यसरी स्थापित हुन पुगेका छन् यो संग्रहमा । त्यस्ता कविताका सबैभन्दा बेजोड उदाहरण मध्ये ‘आमा’ कविता नै हो जसको सबैभन्दा अन्तिम अनुच्छेद बिना अन्य पूर्वानुच्छेदहरुको कुनै अर्थ छैन । र, अन्तिम स्वयम्को् पनि क्रमशः पूर्व अनुच्छेदहरु बिना कुनै पनि अर्थ छैन । तर, सबै स्वतन्त्र पनि छन् । ‘कवि र जिम्मेवारी, बुबा : एक सारथी,  दुबसु क्षेत्री, रुख’ लगायत त्यस्ता लेखन-योजना भएका प्रतिनिधी कविताहरु हुन् । नेपाली कवितामा यो रचना-संयोजन र रचनामान्यता एउटा नयाँ आयाम हो । त्यसैले नेपाली कविहरुमा कृसुका कविताहरु हालसम्मका सबै कविताभन्दा यस अर्थमा फरक सिर्जनाधारका कविताहरु हुन् । नेपाली कवितामध्ये उनका कविता यसै अर्थमा फरक कोटीका कविताहरु हुन् ।

प्रिय कवि कृसु क्षेत्रीलाई धेरै धेरै बधाई !

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...

राजदूत : नियुक्ति मात्रै राजनीतिक, पद सरकारी

राजदूत : नियुक्ति मात्रै राजनीतिक, पद सरकारी सरकार परिवर्तन भएपछि राजदूत परिवर्तन हुने भएकोले...

Case Against ASI Karki

Kathmandu, What happens when an investigator for abuse of authority him or herself involves...