...

Saturday 23rd March 2019

व्यक्ति चोलेन्द्र शमशेरको निकृष्टता


स्वागत नेपाल
तपाईँले जीवनमा सबैभन्दा दुश्मन ठानेका व्यक्तिहरुले तपार्इँको जन्मदिनमा शुभकामना र सफल जीवनको लागि प्रार्थना गरे भने तपार्इँ अस्वीकार गर्नुहुन्छ ? पक्कै पनि गर्नुहुन्न । तपाईँको जन्म सार्थक भएको खुसीमा दुश्मनबाट पनि बधाई र शुभकामना भन्दै झुकेर खुसी साट्न आउँदा तपाईँ त्यो शुभकामना र बधाई अस्वीकार गर्नुहुन्छ ? पक्कै पनि गर्नुहुन्न । विरोधीले वा आफूले मन नपराएका मान्छेले पनि पनि आफ्नो प्रगतिमा बधाई भन्नु भनेको त्योभन्दा सफलता केही पनि हुन्न जीवनमा । तर, केटाकेटीहरु सानोसानो विषयमा झगडा पर्दा मेरो बर्थ डे मा तँलाई चकलेट दिन्न, मेरो बर्थ डे मा बोलाउँदिनँ, म परीक्षामा फस्र्ट भएकोमा तँलाई खुच्चिङ्ग भन्छन् । जन्मदिनमा र जीवन सफल भएको अर्थ लाग्ने कुनै उपलब्धीमा खुसी बाँड्न आउनेलाई पनि केटाकेटीहरु आँखा तरेर हेर्छन् कतिपय दुच्छर र राम्रो संस्कार नभएका बालबालिकाहरु । तर पनि त्यो उनीहरुको बालसुलभ गुण हो । त्यही कुरा सम्झेर पछि ठूलो भएपछि आफँै पश्चात्ताप हाँसो मान्छन् बालबालिकाहरु ।
म पनि सानो छँदा, जम्मा पाँच कक्षामा मात्र पढ्दा मेरो भाइलाई अर्को एउटा गाउँको बढेमानको दाजु पुस्ताको दिनेश दाहाल भन्ने साथीले मेरो भाइलाई पिटेपछि म पनि ऊसँग जाइलागेँ । तर उनले मलाई सजिलै जित्थे । मैले उनले मलाई पिट्न अप्ठेरो हुने गरी पूरै उनकै जीउमा लेपासिएर उनको पूरै कपडा च्यातिदिएँ किनकि म उनलाई पिट्न सक्तिनथेँ । उनी सर्वाङ्गजस्तो बनेर टिशर्टले तौलियाजस्तो बेरेर घर आउनु पर्यो । म पनि त्यही हालतमा थिएँ । उनी र म वीच मैले वि एल पास गरुञ्जेलसम्म नै बोलचाल भएन । मेरो विवाह हुने भयो । मेरै विवाहको दिन अर्को मेरो भाइ नै नाताको लोकनाथको विवाह र मेरो एकै दिन एउटै गाउँका छिमेकी केटीहरुसँग विवाह हुने भयो । मेरो घरमा विवाहका दिनमा समेत म बेहुलो निस्कने बेलासम्म पनि खासै मान्छे आँगनमा थिएनन् । एकै दिन परेको नजिकैको अर्को घरमा मेरो घरमा दुई बेहुलाका घरमध्ये मेरो घरको आँगनमा मान्छेहरु कम हुनु मेरोमा तामझाम र साम्पत्तिक प्रदर्शन कम हुनु नै थियो । तर पनि म बेहुलो बनेर बाहिर निस्कँदा आँगनमा मान्छे पल्लो घरमा भन्दा थोरै हुनुले मात्र होइन एउटा मान्छेले आँगनमा भ्याई नभ्याई काम गरिहरहेको दृश्यले मेरो आँखामा आँसु आएको थियो बेहुलो बनेर निस्कने बेलामा । त्यो व्यक्ति त्यही दिनेश दाहाल थियो । म पाँच कक्षामा छँदादेखि मेरो भाइलाई उसले पिटेको विषयमा नबोलेको म वि एल सकेर विवाहको निम्तो दिन म आँफैँ उसकहाँ गएको थिएँ । उसको पनि आँखामा आँसु आउन खोेजेको थियो । मेरो पनि आँखा रसाएकै थियो । मेरो आर्थिक अवस्थाको कारण विवाहको बेला पनि मेरो आँगनमा खासै मान्छेहरु थिएनन् भने पल्लो घरमा घुइँचो नै थियो । त्यसवीचमा मेरो विवाहमा मैले बोलाएपछि उसले मेरो घरको दाजुभाइ जत्तिकै खटिएर सारा विवाहको काम गर्यो । विवाह पश्चात टाढाटाढाबाट ल्याएका सामानहरु पुर्याउनेदेखि सरसफाइका काममा र पाहुनालाई सत्कार गर्ने खुवाउनेसम्मका काम गर्यो । म र ऊ सायद कक्षा ५ देखि एकअर्कालाई दुश्मन ठान्थ्यौँ । मैले मेरो विवाहमा नबोलाउने होइन घरैमा गएर निम्ता दिएँ मलाई बधाई दिन र शुभकामना दिन आउनू है मेरो विवाह हुँदैछ भनेर उसले मलाई सरप्राइज नै दियो । मैले ऊबाट विरोधी ठानेको मान्छेबाट शुभकामना र आफ्नो जीवनमा महत्वपूर्ण काम र दिनमा बधाई प्राप्त गर्नुको आनन्दको अर्थ कति मीठो हुन्छ शिक्षा लिएको छु ।
महान मान्छेहरु दुश्मनलाई राम्रो कामको लागि बधाई र उसको जीवन अर्थपूर्ण हुने काम गरेकोमा खुसी साट्छन् । महान मान्छेले आफ्नो जन्म अर्थपूर्ण हुने काम गरेकोमा दुश्मनले पनि बधाई र शुभकामना दिन्छ भने त्यसलाई धन्यबाद भन्छन्, अस्वीकार गर्दैनन् । जसले जीवन भएकोमा बधाई दिन समेत कसैलाई रोक्छ तेरो शुभकामना र बधाई मलाई चाहिँदैन भन्छ त्यो सर्वनिकृष्ठ मान्छे हो धर्तीमा ।
नवनियुक्त प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आफू प्रधानन्यायाधीस बनेर पदभार ग्रहण गर्नुपूर्व नै आफूलाई बधाई दिनबाट सर्वोच्चका वरिष्ठत्तम न्यायाधीस दीपकराज जोशीलाई आफूलाई बधाई दिनबाट समेत रोक्नु भन्ने आदेश दिएको समाचारमा आएपछि मलाई यी सबै कुरा भन्न मन लागेको हो ।
हुन त खराबमध्ये कम खराबलाई चुन्ने व्यवस्था नै हाम्रो लोकतन्त्र हो । त्यसैले खराब उम्मेद्वारलाई बहिष्कार गर्न पाउने अधिकार सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिई कानुन बनाउनू भन्दा पनि राइट टु रिजेक्ट लागू गरेनन् दलहरुले । तर, अरुको अयोग्यता आफ्नो योग्यता हुन सक्तैन । योग्य ठहर भइसकेपछि अयोग्यहरुले योग्यलाई बधाइ दिन समेत प्रतिबन्ध लगाउनुले उत्कृष्ठता होइन झन् अमानवियता र निकृष्ठता प्रस्तुत हुन्छ । महान मान्छेले दुश्मनले नै दिएको भए पनि जन्मदिनको शुभकामना, उपलब्धीमा बधाई र जीवनको सफलताको कामना अस्वीकार गर्दैनन् । दुश्मनले पनि शुभकामना र बधाई दिनु राम्रो हो । खराब व्यक्तिले पनि बधाई दिनु भनेको मैले गर्न सकिनँ, तिमीले सक्यौ, तिमीलाई बधाई छ भनेको हो । शुभकामना अस्वीकार गर्नेलाई त्यो शुभकामना पाउने पद प्राप्त गर्नेमा आफैँलाई विश्वास रहेनछ, म त्यसको हकदार रहेनछु भन्ने कुरा मनमनै लागेको पुष्टि हुन्छ । मान्छेको उत्कृष्ठता र महानता भनेको शक्ति र पदमा पुगेपछि मात्र थाहा हुन्छ ।
प्रधानन्यायाधीस बन्नु भनेको चोलेन्द्र शमशेरको नयाँ परिचिय सहितको नयाँ जन्म हो । जन्म दिनमा बधाई दिँन समेत उपस्थित नहुनु, हुन नदिनू भन्ने आदेश गर्ने व्यक्ति ओहो सभ्य मान्छेबाट यस्तो कल्पना कसरी गर्न सकिन्छ ? समाजले के सिक्छ प्रधानन्यायाधीसबाट ? हामीले पढेको गुरुप्रसाद मैनालीको छिमेकी कथाको कुकुरलाई पो बोलाएपछि जान्छ त मान्छेले त उत्सवमा शुभकामना दिन नबोलाए पनि जानुपर्छ भन्ने कथाका हरफहरुको हामीले एसएलसीमा पुष्टि गर्न सप्रसंङ्ग व्याख्या गरेका थिर्याँै । तर, त्यो गलत पढिएछ कि जस्तो लाग्यो चोलेन्द्र शमशेरको बधाई दिन पनि जोशीलाई आउन नदिनू भन्ने आदेशबारे सञ्चारमाध्यमबाट जानकारी पाएपछि ।
देशको राष्ट्रपति प्रधानमन्त्रीभन्दा पनि सामाजिक सदाचार, नैतिकता, आदर्शको अपेक्षा एउटा प्रधानन्यायाधीसबाट राखेको हुन्छ समाजले तर हाम्रा बालबालिकाले शक्ति र सत्ताले भनेपनि कतिसम्म असामाजिक सन्देश जाने गरी, कतिसम्म निकृष्ट बनेर प्रधानन्यायाधीस पनि गिर्न सक्दारहेछन् भन्ने उदाहरण चोलेन्द्र शमशेरबाट पाउने भए ।
कसैले आफूलाई बधाई दिन्छ भने, शुभकामना दिन्छ भने त्यो शुभकामना र बधाई पाउनेको चासोको विषय होइन दिनेको विषय हो । जर्ज बनार्ड शले आफ्नी प्रेमिकालाई प्रेम गर्छु भन्दा उनको प्रेम अस्वीकार गर्ने प्रेमिकाले गाली गरेकी थिइन् र तिमी मलाई प्रेम गर्ने रे ? भनेर गाली गरेर चेतावनी दिएकी थिइन् तर जर्ज बर्नाड श ले भनेका थिए कि म तिमीलाई प्रेम गर्छु यसमा तिमीलाई के चासो तिमी आफ्नो गर न । दिस इज नन अफ योर विजनेस । चोलेन्द्रलाई दीपकराज जोशीले बहालवाला वरिष्ठ न्यायाधीसको हैसियतमा बधाई दिन्थे र चोलेन्द्रको त्यो चासोको विषय थिएन । उनले प्रतिबन्ध लगाउनै पर्दैनथ्यो । बधाई दिन र शुभकामना दिन समेत प्रतिबन्ध लगाउनु भन्दा अर्को निकृष्ट निरंकुशता संसारमा हुन सक्तैन । म दीपकराज जोशीलाई चिन्दिनँ भन्दा हुन्छ । मैले उनको इजलासमा बहस गरेको बाहेक अरु कुनै साइनो छैन । म उनको पक्षमा लेखिरहेको छैन । मैले उनको बारेमा प्रशस्त औपचारिक सञ्चार माध्यममा टिप्पणी गरेको छु नैतिकता देखाउनुस् भनेर ।
यतिबेला चोलेन्द्र शमशेरको पनि विरोध होइन प्रवृत्तिको कुरा गरेको । त्यसमा पनि प्रधानन्यायाधीसको हैसियतमा होइन व्यक्तिको हैसियतमा नेपाली पूर्वीय दर्शन बमोजिम बधाई र शुभकामना समेत अस्वीकार गरेको सन्दर्भमा ।
पत्रकार सम्मेलनमा चोलेन्द्र शमशेर राणाले साथीभाइ भनेर आफूले नभन्ने । संसदमा प्रतिबद्धता जनाइसकेकोले आफूले कठोर रुपमा प्रस्तुत हुने भन्ने जनाउन दिनुभएको छ । यसबाट केहीले नवप्रन्या शमशेरको बोल्ड निर्णय क्षमता भन्दै प्रशंसा गरेको पनि पाइयो तर चोलेन्द्र शमशेरले नेपालको न्यायपालिकाको सम्पूर्ण शक्ति संसदको एउटा समितिलाई बुझाएर फर्किएका छन् भन्ने कुराको प्रमाण हो त्यो । संसद अन्तर्गत इतिहासमा कुनै समय नेपालको न्यायपालिका थियो भने त्यो अहिलेको समय हो । त्यो पनि संसदले लाए अह्राएको काम न्यायापालिकाले गर्ने हो भन्ने चोलेन्द्र शमशेरले सोझै भनेका छन् । मैले प्रतिबद्धता जनाएर आएको छु सोही अनुसार काम गर्छु भनेर । यो भन्दा घीनलाग्दो न्यायपालिकाको अर्को अनुहार हुनसक्ने छैन ।
तलका लिंकहरु समेत पढ्नुस्

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...

राजदूत : नियुक्ति मात्रै राजनीतिक, पद सरकारी

राजदूत : नियुक्ति मात्रै राजनीतिक, पद सरकारी सरकार परिवर्तन भएपछि राजदूत परिवर्तन हुने भएकोले...