...

Thursday 18th April 2024

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय बनाएको भए हुन्थ्यो बरु
नूतन यज्ञोपवित धारण गर्ने अर्थात् जनै मात्र नयाँ लगाउने तर विचार पूरानै राख्नेहरुलाई जनै लगाउने शास्त्रीय अधिकार छैन, तिनका जनै आजै काट्नुपर्छ ।

–स्वागत नेपाल

– आज जनै पूर्णिमा । प्रत्येक वर्ष जनैपूर्णिमा गज्जबसँग हँसाएर जान्छ । साँच्चै हाँसो उठ्छ – नूतन यज्ञोपवित धारण गरे पनि पूरातन मूर्खताको अनुशरण गर्नेहरु देखेर । तस्वीर: कविर कपाली

– जनै पूर्णिमामा पूरानो जनै झिकेर नयाँ जनै लगाउनुको शास्त्रीय मकसद ज्ञात/ अज्ञात अवस्थामा भए– गरेका भूल, गल्ती र अपराधलाई स्वीकार र सुधार गरेर नयाँ जीवनव्यवहारलाई अघि बढाउनु हो । त्यसैलाई नूतन भनिन्छ, पूरातन होइन ।

–वर्षैपिच्छे जति जति नयाँ जनै फेर्दै गयो उति उति वर्ष, दशक र पुस्ता गर्दै शताब्दीयौँ पूरानो दम्भतर्फ आफू र मुलुकलाई धकेलिरहेकाहरुले अनेक तामझामका साथ ‘नवीन यज्ञोपवित धारण’ गरेको समाचार हेर्दा सुन्दा पढ्दा अर्को खास्साको गाइजात्राजस्तो लाग्छ । यसअघि त्यस्तो यज्ञोपवित धारण अरु कसैले गरेका त्यस्ता तामझाम सञ्चारमध्यममा देखिन्थे । अहिले त्यो ठाउँमा अरु नै कसैलाई देखिन्छ । त्यतिमात्र फरक हो ।

– मुलुक अझै पनि आदिम दासप्रथाको तुजुकबाट चलाउँछु भन्ने पुरानै घीनलाग्दा सपना देख्न छोडेनन् तिनले ।

– यज्ञोपवितझैँ सोच नूतन किन भएन कहिल्यै ? सायद अनेकानेक अपराधका तानाबाना बुन्नेहरुका लागि हरेक कर्मकाण्डको उल्टो फल हातलागी भइरहेछ ।
– हत्या, हिंसा, अहंकार, जालसाजी, भ्रष्टाचार आदि तमोगुणलाई समेत परित्याग गर्न नूतन यज्ञोपवित धारण गरिने भए पनि त्यसकै बृद्धिका लागि त्यो धारण गरेझै परिणाम आइरहेछ ।

– जसले नूतन यज्ञोपवित धारण गरेको स्वांग मात्र पार्छन् र सोच – शैलीमा सुता परिवर्तन गर्दैैनन् तिनीहरु सबका जनै काट्नुपर्छ, तत्कालै चुडाइ दिनुपर्छ ।

– तर के गर्ने ? जनै खोस्ने र जात बढुवा गरेर जनै बक्सिस दिने प्रकारान्तरमा तिनै पूस्तैनी महापण्डित छन् अझै पनि हामीलाई धर्मनिरपेक्ष भन्दै ती सब गर्न नाटक गर्न सरकारी विदा नै दिएर काम नगर्ने निहुँ खोज्नेहरु । उहिल्यैदेखि अझैसम्म, हाम्रै टाउको माथि गिर खेलिरहेका ।

– नूतन केही हुन सकेन, यज्ञोपवितबाहेक । शासक पूरानै छन् शताब्दीयौं अघिकै । फेरि तिनै रहने भए ।

– शासित हामी नै हौँ कहिल्यै आफ्नो शासक स्वयम् हुन त के छान्न समेत पाएनौँ ।

– छान्न पाएकै भनिने बेलामा पनि के कुरा † पूरै मतदाताको सयकडा ७५ प्रतिशत भन्दा बढी अल्पमतमा र सयकडा २४/२५ जतिले बहुमत भएरले शासन गर्यो हामीमाथि ।

– अब त झन मत प्रतिशतका कुरै के गरौँ मत । मत केलाई भन्ने मतको पुनर्परिभाषा गर्नु पर्ने भयोे । नत्र जनै मात्र नयाँ लगाउने अनि मानसिकता पुरानै राखिरहने तिनका जनै आजै काट्नुपर्छ ।

– जनै र राखीमा मन्त्रेर लगाएको पहेंलो रंग पञ्चायतकै पहेंलो मतको प्रतीक भएछ ।

– हुन त मुलुकको आकाशमा कृष्णपक्षका अँध्यारा रात दिन कहिले छैनन् र ? जन्मैदेखि श्रम शोषण भोगिरहेका गरिब जनतालाई सधैँ छ कृष्णपक्ष ।

– शुक्लपक्ष त सधैँ – सधैँ उही जनताका ज्ञानका आँखामा राता ताता झिरले सेकुवा छेडेजस्तो छेड्दै अगाडि बसेर मुलुकलाई पछाडि धकेल्नेलाई छ । जस्तै रात परोस् कहिल्यै अँध्यारो हुन्न तिनलाई । जति ढिला होस् कहिल्यै हतारो हुन्न उनलाई । जतिसुकै घाम लागोस् जहिल्यै अँध्यारो छ हामीलाई ।
– हामी जति पनि दिवस मनाइरहेछौ ती सब अँध्यारोमा मनाइरहेका छौँ । राती पनि दिवस मनाएर ठूलो भ्रमको आनन्द उठाइरहेछौँ ।

– हामीलाई नामैले दिउसो मनाउनुपर्ने दिवस राती मनाउन लगाएर आफूलाई सफल ठान्ने निर्देशक प्रत्येक दिन तस्करका भोजमा जुटिरहेका छन् । तिनीहरु बल्न थालेका बत्ति निभाएर अँध्यारो कुरिरहेको लाटोकोसेरोको भोजमा छन् ।

– शास्त्र भन्छ – अब आजै पूर्णिमा दिनको अन्त्यपछि कृष्णपक्ष शुरु हुन्छ । हो, कृष्णपक्षका रात क्रमशः छिप्पिदैछन् हामी दृष्टिविहीनहरुको बस्तीमा ।

– रात शुक्लपक्षकै भए पनि उनीहरुलाई÷हामीहरुलाई कुनै पनि वास्ता छैन र हुदैन पनि ।

– आखिर दृष्टिविहीनहरुलाई मध्यरातमा बत्ती निभे पनि त्यसको कुनै अर्थ हुँदैन – उनीहरुका लागि बत्ती नबालिदिए पनि त्यो कुनै अनर्थ होइन ।

–तर अनर्थ हुन खोजिरहेछ जबरजस्ती अर्थ लगाउन खोजेर । आफैले बनाएका कानूनले हामी अर्कालाई बाध्न बनाएका कानूनभित्र क्रमशः आफैँ बाँधिदै गएका छौं र हामीले पक्रन खोजेको अपराधी अझै सुरक्षित बनिरहेको छ ।

– कानूनमा शुरुकै दफा र परिभाषा खण्डहरुमा विषय र प्रसंगले अर्को अर्थ नलागेमा ( विषय र प्रसंगले त खास अर्थ लाग्न कहिल्यै दिएनन् नै । त्यसैले यो एउटा सपना मात्र भो – आफ्नो शासक आफै बन्ने, यज्ञोपवितजस्तै अपराधीविहीन पवित्र र नूतन नेपालको सपना । विपनाम जनै मात्र नयाँ छ यो सपनामा) तिमी म हुन्छौ र म तिमी हुन्छु । हामीहरु तिमीहरु र उनीहरु हामीहरु हुन्छौं । यो सब ज्यामिती हो, हामीले धमाधम बनाइरहेको कानुन ।

– गोरस खाएर हुर्किएका हामीमध्ये कसैले पनि आफ्नै पाइथागोरस जन्माउन सकेनौँ । आफ्नै पाइथागोरस नभएपछि घोकिरहेछौं आफैले नखोजेको निष्कर्ष निकाल्न तिनका ज्यामितीय सिद्धान्त ।

– दुई समानान्तर रेखालाई कुनै छेदकले काटिदिएमा क्रमागत भित्री कोणहरु बराबार हुन्छन् । र, हुने छैनन् एकान्तर कोणहरु पनि असमान । हो, त्यस्तो यता न उताको निष्कर्शमा हामी पुगिरहेछौं । हामी शदीयौँदेखि अँध्यारोमा नै सही केही लौराहरुको भरमा सीधारेखा कोरेर हिँडिरहेछौं एउटा विन्दु भेट्नलाई । तर, फेरि ती रेखालाई बक्र बनाउन केही किरमिरे धर्सा कोर्न उद्यतहरु छन् यतिबेला मुठ्ठीभर दलका मुठ्ठीभरहरु । विचार पूरातन दासयुगकालीन राख्ने र यज्ञोपवित मात्र नूतन फेर्नेहरुलाई जनै लगाउने कुनै अधिकार छैन । सबैभन्दा पहिला तिनीहरु सबका जनै काट्नुपर्छ ।

– हो, हामी विश्वविद्यालयहरुले के पढाए हामीलाई रिस मात्र उठ्छ खाली । धानबारीमा अनावश्यक उम्रिएका फल पनि नदिने तर जस्तो सुकै प्रतिकूलतालाई पनि जितेर नाभो उम्रिएजस्तो विचारहरु मात्र उम्रिन्छन् छर्दै नछरिकन । यो भएन भनेर मुद्या हाल्न जाने ठाउँ छैन । अदालत केवल माइक्रो फोन रैछ, फैसला बोल्ने अर्कै हुने रहेछ । अनि दिक्क लाग्छ । त्यो अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए राम्रो हुन्थ्यो बरु, प्राकृतिक न्याय मिल्ने थियो बटुवाहरुलाई, किनकि प्राविधिक न्याय मात्र छ मुलुकमा प्राकृतिक न्याय मिलेन कहिल्यै । सोझो देखिएका सत्यले पनि सत्य हुन प्रमाण खोज्छ अभय श्रेष्ठका र विनोद के सीका कवितामा जस्तो ।
वास्तवमै त्यो संसद भएको भएको ठाउँमा वैधानिक वेश्यालय बनाएको भए काम आउने थियो । ३ सय ६५ दिन नै गाइजात्रा हुने यो देशमा । सबका सब तागाधारी हुन् कि विरोधी सबका सब धारण गरे पनि नगरे पनि जनताको सत्तामा डाँका डाल्नेहरु मानसिकतामा सबै पूरातनपन्थी नै रहेछन् त्यसैले तिनले धारण गरेका यज्ञोपवितको मूल्य कायम राख्न पनि तिनका जनै आजैका मितिमा काट्नुपर्छ । मानसिकता पुरानो लिएर जनै मात्र नयाँ लगाउने योग्यता पनि पुग्दैन । तिनका जनै छिन्नैपर्छ ।
(यो लेख पहिलो पटक मिति मा नेपाल समाचार पत्र दैनिकमा २०५८ सालमा प्रकाशित भएको थियो, पछि सन्दर्भ अनुसार अन्य पत्रिकाहरुमा पनि प्रकाशित भए, अझै सन्दर्भ उस्तै भएकोले फेरि यहाँ जस्ताको तस्तै राखेको हुँ स्वागत नेपाल : ९८५१०१७७१० / swagatpal@gmail.com)

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...