...

Monday 27th July 2026

बेलायतबाट सिक्नुपर्ने स्वास्थ्य सेवा : सन्दर्भ : बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण

2बलराम प्यासी

यतिखेर ८२ वर्षिय ससुरा बा निमोनिया भएर मिनभवनस्थित सिभिल अस्पताल (निजामति कर्मचारी अस्पताल) मा उपचाररत हुनुहुन्छ ।

विरामी कुर्न, खाना पुर्याउन, औषधि किन्न, प्रयोगशाला धाउन दैनिक ३ जना खटिईरहेका छौं । श्वासप्रस्वासमा समस्या देखिएपछि फागुन २८ गते शुक्रबार साँझ ७ बजे उहाँलाई त्यस अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो ।

छातीको एक्सरे, रगतलगायत सबै परिक्षण सकेर करीव ४ घण्टासम्म आकस्मिक कक्षमै उपचार गरेपछि राती ११ बजे मेडिसिन वार्डमा भर्ना गर्ने शौभाग्य पाइयो । आकस्मिक कक्षका चिकित्सकले अस्पतालमा विरामी भर्ना गर्ने बेड छैन, अर्काे अस्पतालमा लैजानुपर्छ, तत्कालको लागि मात्र उपचार गरिदिन्छौं भनेपछि हाम्रो सातो गएको थियो ।

 

1

बेलायतमा लेखक प्यासी

त्यसपछि अस्पतालको भूँई पुछ्ने कर्मचारीदेखि धेरैजनालाई गुहारेर बल्ल मेडिसिन वार्डमा खाली भएको एउटा बेड कब्जा गर्न पाउनु हाम्रा लागि युद्ध जिते बराबर नै थियो । नत्र विरामीलाई भर्ना गरेर उपचार गर्न राती ११ बजे तेब्बर भाडा तिरेर ट्याक्सीमा विरामीलाई अन्य अस्पतालमा दौडाउनुपथ्र्याे । विरामीको उपचारका लागि आकस्मिक कक्षबाट त्यही अस्पतालको बेडमा लैजान पाउँदा पनि सानोबेलामा दशैंको लुगा भनेर स्कुलेपोशाक (आकाशे रंगको सर्ट र निलो पाइण्ट) किने बराबरकै खुसी मिलेको थियो ।
एकजना विरामीको लागि त्यतिखेर हामी ४ जना म, श्रीमती, छोरा र छोरी खटिएका थियौं । हामी चारै जनामध्ये कोही औषधि किन्न दौडिईरहेका थियौं त कोही विरामीको एक्सरे र रगत परीक्षणका लागि प्रयोगशालातर्फ लैजान । कोही उपचारको लागि बेडको व्यवस्था गर्न । कस्तो विडम्वना, एकजना सर्वसाधारण विरामीले उपचारको लागि यत्रो संघर्ष गर्नुपर्छ यो देशमा । गणतान्त्रिक मुलुकको नयाँ र विश्वकै सर्वाेत्कृष्ट संविधानले स्वास्थ्यलाई मौलिक हकमा राखेको मुलुकको दर्दनाक अवस्था । हुन त यो अवस्था मैले बुझ्ने उमेरदेखि अर्थात ३० वर्षअघिदेखि अहिलेसम्म उस्तै छ । पैसा हुने र पहुँच भएकालाई मात्रै उपचार सेवा सुलभ छ यहाँ । उनीहरुलाई पैसा र उपचारको चिन्ता गर्नैपर्दैन । उनीहरुलाई विदेशमा लान परे एयर एम्बुलेन्सदेखि करोडौं उपचार खर्चको जोहो गरिदिन्छ ।
सन् २००७ को अक्टोबरमा (असोज, दशैंमा) लण्डनमै छँदा मलाई एक्कासी हृदयाघात भयो । विरानो देशमा मेरा आफन्त कमै थिए । मसंग उपचार गर्ने पैसा थिएन । तैपनि विश्वमै चर्चित बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा—एनएचएस (नेशनल हेल्थ सर्भिस) का कारण पैसा नभएपनि म त्यहाँबाट असाध्यै राम्रो उपचार पाएर नेपाल फर्किएँ ।

3

बेलायतमा लेखक प्यासी

मलाई हृदयाघात भएको खबर सरकारी सूचना केन्द्र ९९९ मा जानकारी पुगेपछि मेरो उपचारको सम्पूर्ण जिम्मा बेलायत सरकारको भयो । आफु बस्ने कोठामै ५ मिनेटमै उपचार सामाग्रीसहित आएको स्वास्थ्यकर्मी टोलीले त्यँहीबाट उपचार शुरु गर्दै बाँकी एम्बुलेन्समा र करीव आधाघण्टाको गाडीको दुरीमा रहेको अस्पतालमा थप उपचारको लागि पुर्याए ।

नेपालमा भए राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री या पहूँचवाला उच्च पदस्थ व्यक्तिको महंगो नीजि अस्पतालमा उपचार गर्न लगिएझैं बेलायत सरकारको सरकारी अस्पताल रोयल ब्राम्प्टनका ५ सदस्यीय चिकित्सक टोलीले मलाई एम्बुलेन्सबाट ओराल्ने वित्तिक्कै शल्यक्रिया कक्षमा पुरयाएका थिए । जहाँ उनीहरुले मेरो मुटुको बन्द भएको दुईवटा नली शल्यक्रिया गरी खोलेर पुर्नजीवन दिए । उपचारका क्रममा न मैले पैसाको चिन्ता लिनुपर्यो, न औषधिको किन्नको लागि यताउता दौडिनुपर्यो न कसैलाई दौडाउननै । न मलाई रेखेदख गर्ने कुरुवा चाहियो न अस्पतालमा खाना बोकेर लैजाने आफन्त नै । खानेकुराको सूचि (मेनु) अनुसार बेडमै अर्डर गरे अनुसारको चाहेजस्तो खानेकुरा खान पाइने ।
बेलायतको केण्ट राज्यमा भएको २१ औं विश्व स्काउट ज्याम्बोरी—२००७ मा भाग लिन नेपाली पत्रकार तथा स्काउट मास्टरको हैसियतमा म बेलायत गएको थिए, त्यहीताका मेरो हृदयाघात भएको थियो । मुटुको सफल शल्यक्रिया पश्चात रोयल ब्राम्प्टन अस्पतालको मेडिकल केयर युनिटमा ६ दिन बसेर उपचार गरेपछि म आफ्नो कोठामा फर्केको थिँए ।
भलै म बेलायतको नागरिक थिइनँ । जुनदेशको नागरिक भएपनि, कानूनी या गैरकानूनी रुपमा बेलायतमा बसेको भएपनि ऊ विरामी पर्दा सम्पूर्ण सुविधासम्पन्न बेलायती सरकारी अस्पतालले पहिला उपचार गर्छ । अरु कुरा त विरामी ठीक भएपछि मात्रै । फेरि एनएचएस अन्तर्गत स्वास्थ्य विमा–एनआई (नेशनल इन्स्युरेन्स) परिचयपत्र हुने नागरिकको लागि त उपचारमा करोडौं रुपैयाँ लागेतापनि सरकारले नै वेहोर्छ । विरामीले उपचार र औषधिको लागि कहिल्यै चिन्ता लिनुपर्दैन, न उपचार खर्चको लागि कतै भौतारिनुपर्छ । नेपाल फर्केपछि आफ्नै या अरुको उपचारको लागि म जति अस्पताल धाएको छु, विरामी भर्नाको लागि भनसुन र पैसाको जोहोको चिन्ता जसरी मैले लिनुपर्छ, त्यस्तो चिन्ता विरानो मुलुक बेलायतमा आफैं विरामी पर्दा पनि मैले लिनुपरेन ।
बेलायती नागरिकले आफ्नो कमाईको अनूपातमा कर तिर्नुपर्छ । तिरेको करबाट सरकारले स्वास्थ्य, शिक्षा, वेरोजगार, वालवालिका र वृद्धहरुको साथै विकास कार्यमा खर्च गर्छ । नेपालको जस्तो आधारभूत आवश्यकताका वस्तुहरु ग्यास, मट्टितेल, पेट्रोल, पानीलगायतका विषयमा बेलायतमा कुनैपनि नागरिकले कहिल्यै चिन्ता लिनुपर्र्दैन । न त त्यसका लागि नेपालको जस्तो लाइनमा नै बस्नुपर्छ ।
यो वर्ष नेपाल र बेलायतवीच सम्वन्ध कायम भएको दुई शताब्दि अर्थात २०० वर्ष पुगेको छ ।

यसैक्रममा शनिबार बेलायती राजकुमार ह्यारी नेपाल भ्रमणमा आएका छन् । भलै उनले आफ्नो नेपाल भ्रमणको क्रममा मुलुकलाई केही आर्थिक याभौतिक सहयोग गरुन या नगरुन त्यो विषय ठुलो होइन । उनी स्वदेश फर्केपछि नेपालले बेलायतको स्वास्थ्य सेवाबाट सिक्नुपर्ने पाठ महत्वपूर्ण हो ।
जनताले आफ्नो छाक कटौति गरि विभिन्न शिर्षकमा उठाएको करलाई सदुपयोग गरि नेपाल सरकारले बेलायती नागरिकले पाएजस्तो निःशुल्क स्वास्थ्य र शिक्षा, वालवालिका र वेरोजगारलाई नियमित भत्ता दिन शुरु गर्नुपर्छ । उठाएको करबाट राज्यको उपल्लो दर्जाका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरुले मात्रै राज्यका सबैथरी सुविधा र भोगविलाश पाउनु अनि सर्वसाधारणले भने आफ्नो दैनिक आधारभूत आवश्यकताका वस्तु जुटाउन पनि दिनहूँजसो संघर्ष गर्नुपर्ने वाध्यता मुलुककै लागि विडम्वना हो । जनता माथिको अन्याय हो ।
बेलायती राजकुमारको भ्रमणपछि नेपाल सरकारले बेलायतबाट यस्ता राम्रा कुराको अनुशरण गर्दै व्यवहारमा उतारोस जसबाट नेपाली जनताले प्रत्यक्ष राहत महसुस गर्न सकून । सबै कुरा पाउन नसकेपनि सर्वसाधारणले जुनसुकै समयमा सबै सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क तर गुणस्तरीय, व्यवस्थित र झण्डझटमुक्त स्वास्थ्यसेवा पाउन सकुन । अहिलेको जस्तो नाममात्रैको निःशुल्क व्यवस्था होइन । सम्पूर्णरोगको उपचारको लागि लाग्ने खर्चका बारेमा विरामी र आफन्तले पटक्कै चिन्ता लिन नपरोस । ournalistpyasi@hotmail.com

(लण्डनमा बटुलिएको अनुभवको आधारमा )

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...