Friday 10th July 2026
मान्छेले मर्ने बेलामा आफ्नो कालबारे आफैँ संकेत पाउँदो रहेछ !
कविता वाचन गर्दागर्दै कवि आचार्यको निधन
सन्देश उप्रेती
कार्तिक ६, काठमाडौं ।
झण्डै डेढ दर्जन साहित्यिक कृतिका स्रष्टा नेत्रमणि आचार्यको आज सबैका लागि अचम्भित हुने गरी उदाहरणीय सक्रियताकै वीच सम्झना रहने प्रकारको निधन भएको छ ।

स्रष्टा नेत्रमणि आचार्य
८७ वर्षको उमेरमा पनि अत्यन्त सक्रियताका साथ आफ्नो कर्ममा जुधिरहनु भएका कवि आचार्यको आजै विहान एउटा कविता लेखेर सोही कविता एक कार्यक्रममा वाचन गर्दा गर्दै निधन भएको हो ।
कार्यक्रम थियो झण्डै ३१ वर्षदेखि मासिक रुपमा निरन्तर जारी रहेको कविता वाचन तथा अन्तरक्रिया साहित्य शृंखला साहित्य सन्ध्याको ३६५ औं अंक, जसमा कवि आचार्यले आजै विहान घरमा लेखेर सोही कार्यक्रममा वाचन गर्न भनी ल्याउनु भएको कविता वाचन गर्दागर्दै बेहोस भएर ढल्नु भएकोमा तत्कालै निधन भएको न
जिकैको मोडल अस्पताल पुर्याएपछि त्यहाँका चिकित्सकहरुले घोषणा गरेका थिए ।
उहाँले आजै विहान लेख्नु भएको जानकारी सहित कविता वाचन गर्दै आफू १७/१८ वर्ष छँदाका समयको आज एकदमै सम्झना आइरहेको बताउनु भएको थियो ।कार्यक्रम कवि रमेश पोखरेलले सञ्चालन गर्दै हुनुहुन्थ्यो ।
उहाँले आफ्नो १७ /१८ वर्षको उमेरको समय सम्झना गर्नु भएको कविता यस्तो थियो …
खेल्दै जंगलमा कुनै चुलबुले मुस्कानले शोभित
कर्के दृष्टि र पोटिलो बदनले पार्थिन् निकै मोहित
तिन्कै दर्शन प्राप्ति निम्ति जनको हुन्थे कथा दौडको
सम्झेँ आज झलक्क त्यै दिन अहा त्यो सत्र अठ्ठारको
नाना रम्य विचित्रका कुसुमले लोलाउथे लोचन
गथ्र्यो स्वच्छ हिमालका पवनले यो देहमा स्पन्दन
त्यो बेला घर दाजुभाइ बहिनी सम्पत्ति सम्झन्छ को
झल्को लाग्छ वसन्त अन्धधमिलो त्यो सत्र अठ्ठारको
बल्दो अग्नि जहाँ दियो, रवि जहाँ ताराहरु पिल्पिल
लग्नेझैँ मृग लोचनी नमिलदा हुन्थेँ सधैँ विह्वल
त्यो पाएपछि पूर्ण भो सफल भो अत्यन्त आनन्द भो
बिस्र्यूँ के म वसन्तको सरलता त्यो सत्र अठ्ठारको
सुन्दैमा कमनीय त्यो समयको संवाद व्यंग्यात्मक
गाउँमा वनमा तथा शहरमा घुम्नू अनावश्यक
मै राम्रो गतिशील फुर्फुर सर्धैँ संकेत सानन्दको
झल्को लाग्छ मलाई कुन्नि किन हो त्यो सत्र अठ्ठारको
मानौ वाग थियो घना वन तथा झस्को फुलेका फूल
कालो मेघ मडारिँदा त सहसा पाथ्र्यो मनै तुल्बुल
क्वैलीको कुहु नै थियो हृदयको आहो नयाँ रेतको
सम्झेको छु वसन्तको तरलता त्यो सत्र अठ्ठारको
सारा मानवमा वसन्त महिमा सौन्दर्य नै हो तर
छायाको अतिरिक्त मार्ग तरुको शोभा वृथा हुन्न र ?
जस्मा यौवन सम्पदा सहचरी पन्ना थिइन् हारको
सम्झी बस्छु वसन्तको मधुरता त्यो सत्र अठ्ठारको
हल्का वस्त्र रुचाउने फिरफिरे चाहिन्न त्यो स्वीटर
देखिन्थे वन वाटिका कुसुमका फक्राइले सुन्दर
छर्दैथे नव पालुवा पनि जहाँ सन्देश उल्लासको
सम्झिरेछु वसन्तका दिनहरु त्यो सत्र अठ्ठारको
झल्को लाग्छ अतीतका दिन अझै त्यो चैत वैशाखको
भन्थे केवल मै ठूलो जगतमा होलान् मजस्तो त को
चक्नाचुर भयो अनि चुरीफुरी बेलाछ सूर्यास्तको
पैलेझैँ अब त्यो वसन्त कहिले पाइन्न चाहन्न भो ।

कवि आचार्यको कविता उनकै हस्ताक्षरमा
उनको यो अन्तिम कविता हेर्दा आज १७/१८ वर्ष छँदाको समयको किन धेरै सम्झना आइरहेछ, किन म आफ्नो यौवनकालमा म भन्दा राम्रो कोही छैन भन्ने ठान्थेँ तर अहिले सबै व्यर्थ रहेछ भन्ने निश्कर्ष निकालिरहेछु, र अब त मेरो सूर्यास्त पनि हुने बेला भयो, अब त्यो १७/१८ वर्षको वय पाए पनि चाहिन्न भन्ने अन्तिम पंक्तिसम्म आइपुग्दा भन्नु भएको छ ।
जीवनभर इमानदारीपूर्वक निजामति सेवामा खरिदार रहेर पनि आफन्त ठाउँमा नभएका कारण पदोन्नति नपाएका कवि आचार्यले एक दर्जन भन्दा बढी साहित्यका कृतिहरु लेख्नु भएको छ ।
तत्कालै साहित्य सन्ध्याको कार्यक्रम पनि रोकेर मोडेल अस्पताल पुगेका कवि कवयित्रिहरु अस्पताल प्रांगणमा भावविह्वल मुद्रामा अहिले अरु तयारीका लागि बसिरहेका छन् ।
कवि आचार्यकी श्रीमति अम्बिका आचार्य २ वर्षदेखि प्यारालाइसिसका कारण ओच्छ्यान पर्नु भएको छ ।
गोरखाको गोरखा नगरपालिका वडा नं. ९ स्थायी घर भएका कविका ३ छोरा रामबाबु, श्यामबाबु र ध्रुवबाबु आचार्य छन् भने ३ छोरीहरु भगवती घिमिरे, सरस्वती अधिकारी र लक्ष्मी देवकोटा रहेको जानकारी उनका जेठा नाति सन्देश आचार्यले दिए ।
अस्पताल प्रांगणमै आफू आफ्ना हजूर बुबाका दर्जनभन्दा बढी पुस्तकमध्ये ‘पच्चिस थुंगा’, ‘रचना मञ्जरी’ र ‘दर्जी सुजेरो’ पुस्तकबाट बढी प्रभावित रहेको बताए । उहाँको जीवनमा कहिल्यै नथाकी आफ्नो काममा दत्तचित्त भएर लाग्ने बानीले आफूले जीवनमा धेरै पाठ सिकेको पनि उनले सम्झना गर्दै झण्डै भक्कानो छोडे ।
कार्यक्रममा सहभागी अन्य कविहरु पनि उहाँको निधनबाट आश्चर्य चकित बनेका थिए ।
चिकित्सकहरुले भने फोक्सोमा श्वास लिन सक्ने क्षमता नै नपाइएको बताएका थिए ।
कार्यक्रम पश्चात कार्यक्रम सञ्चालक साहित्यकार रमेश पोखरेल

साहित्यकार रमेश पोखरेल
ले आफ्नो फेसवुक पेजमा यस्तो लेख्नु भएको छ :
मान्छेको जीवन कर्कलाको पानी
आज कार्तिक ६ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पसमा साहित्य सन्ध्याको नियमित मासिक ३६५ औँ कार्यक्रमको मैले औपचारिक थालनी गरेको थिएँ । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा थालनी भएको ‘विशेष शुभ कामना कविगोष्ठी’मा प्राज्ञ विष्णु प्रभात, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्रराज निरौला, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, प्राज्ञ एवम् वरिष्ठ कवि पूर्ण विराम, ज्योति साहित्य प्रतिष्ठानका अधयक्ष मणिराज सिंह, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय, प्राज्ञ सानु पहाडी, वरिष्ठ कवि कणाद महर्षि, समालोचक विनोद मन्जन, वरिष्ठ साहित्यकार डम्बर पहाडी, प्रगतिशील लेखक सङ्घ नेपालका वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’ र ८७ वर्षीय वयोवृद्ध कवि नेत्रप्रसाद आचार्य अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।
कविहरूले कविता वाचनको थालनी गर्नु भयो । नवौँ नम्बरमा वयोवृद्ध कवि नेत्रमणि आचार्यले कविता वाचन गर्नु भयो । उहाँ साहित्य सन्ध्याको नियमित मासिक कार्यक्रममा तिन महिनादेखि लगातार आइ रहनु भएको थियो । गोर्खा जिल्लामा लामो समयसम्म अध्यापन पेसामा संलग्न रहनु भएको, गोर्खा एफ.एम.मा बिहान धार्मिक कार्यक्रम समेत सञ्चालन गरि सक्नु भएका विद्वान व्यक्तित्व आचार्यका तिन छोरा र तिन छोरी रहेका, बुडी डेढ वर्षदेखि थला परेकी, माहिलो छोरासँग नेपालटारमा बसोवास रहेको बताउनु भएको थियो । ८७ वर्षको उमेरमा पनि ठम ठम हिँडेर कार्यक्रममा आउने, चस्मा नलगाइकन शास्त्रीय छन्दको कविता जोशका साथ वाचन गर्ने उहाँका विशेषता पाइएको थियो । आज पनि बडो जोशका साथ आजै बिहान लेखेको तर परिष्कार गर्न बाँकी रहेको जानकारीका साथ शास्त्रीय छन्दको कविता बडो जोशले वाचन गर्नु भयो । तलको यो तस्बिर आजै कविता वाचन गर्दै गर्दा लिइएको हो । आफू ८७ वर्षमा हिँडि रहेको भए पनि १७ वर्षको अनुभूति भइ रहेको छ भन्नु हुँदै जोशिलो पाराले कविता वाचन गरि सकेपछि यथास्थानमा गएर आफैँ बस्नु भयो । तर एक छिन्मै उहाँ डेस्कमा घोप्टो पर्नु भयो । मैले कार्यक्रम सञ्चालन गरि रहेकोले उहाँलाई हेर्दा केही असहज भएको हो कि जस्तो मानेर सँगै बसेका अर्का साथीलाई हेर्न अनुरोध गरेँ घ्यार घ्यार आबाज आए जस्तो भयो, पानी छर्कियौँ र करिब ३–४ मिनेट हेर्यौँ अनि नजिकैको मोडेल अस्पतालमा बोकेर लगियो । अस्पतालमा पुर्याएको केही समयमै डाक्टरले उहाँको देहान्त भएको घोषणा गरे । हामीले उहाँको खल्तीमा भएको मोबाइलमा रहेको नम्बरका आधारमा आफन्तलाई खबर गर्यौँ र उहाँहरू पनि आउनु भयो । यति सहज मान्छेको मृत्यु भएको मैले पहिलो पटक अनुभूत गरेँ । यस्तो मृत्युले आफन्तलाई निश्चय नै पीडा दिएको छ । हामी गोष्ठीमा उपस्थित सबै दुखी भएका छौँ र दुखका साथ श्रद्धाञ्जलि अर्पण गर्दछौँ । तर ‘मान्छेको जीवन कर्कलाको पानी’ भनिएको सायदै यस्तै व्यहोर्नु परेर पो हो कि !
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...