...

Friday 10th July 2026

सरकारी निकायका निजी वकीलहरु सब हटाइन्छ : महान्याधिवक्ता श्रेष्ठ भिडियो सहित

महान्यायाधिवक्ता भन्छन् –

-देशभरका सरकारी कार्यालयका सल्लाहकार प्राइभेट वकील हटाइने छ

– सरकारी कार्यालयमा प्राइभेट वकील सल्लाहकार राख्ने हाकीमका नाममा बेरुजू राखिने छ

– सरकारलाई सल्लाह नदिने पनि अधिकार छ

– न्यायाधिस नियुक्तीमा न्याय भएन ।

-सार्वजनिक हित विपरितका सरकारी मुद्दामा बहस पैरवी गरिँदैन

-म सरकारी वकीलको हेड भएर प्राइभेट वकीलको हित मात्र हेर्न मिल्दैन ।

(२००८ सालदेखि हालसम्म नेपाल राज्यका महान्यायाधिवक्ताहरुमध्ये बर्तमान महान्यायाधिवक्ता रमण श्रेष्ठ सबैभन्दा धेरै खतरा मोल्ने महान्यायाधिवक्ता हुन् । उनको नेतृत्वमा पहिलो पटक ६५ वर्षपछि देशभरका सरकारी वकीलहरुको राष्ट्रिय सम्मेलन सम्पन्न भयो । पहिलो पटक सार्वजनिक हित विपरितका सरकारवादी मुद्दामा सरकारी वकीलले सरकारका तर्फबाट वहस पैरवी नगर्ने समेत घोषणा उनकै नेतृत्वमा भयो । त्यसैगरी उनकै नेतृत्वमा सरकारी वकील देशभर हुँदाहुँदै सरकारी निकायमा समेत निजी कानुन व्यवसायी नियुक्त गरी सरकारी कोष खर्च गर्ने प्रवृत्ति रोक्न र निजी कानुन व्यवसायी सल्लाहकार नियुक्त गर्न रोक्ने पहल शुरु भयो । भ्रष्टाचार लगायतका सरकारवादी मुद्दामा किन सरकारले पटक पटक बढी हार व्यहोर्छ भन्ने अनुसन्धान गरी त्यसलाई रोक्नका लागि सरकारी वकील र प्रहरीका अनुसन्धान अधिकारीहरुको संयुक्त राष्ट्रिय सम्मेलन पनि हुँदैछ । प्रस्तुत छ महान्यायाधिवक्ता श्रेष्ठसँग भर्खरै भएको न्यायाधिस नियुक्ती समेतको सन्दर्भमा यस अनलाइन swagatnepal.com का सम्पादक टि.पी. शर्मा कडेलले गर्नुभएको कुराकानी । यस अन्तरवार्ताको पुरै वा आंशिक साभार लिंक शेयर र क्रेडिट दिएर गर्न सबैमा अनुमति रहनेछ । )

महान्यायाधिवक्ता श्रेष्ठ उहाँकै कार्यालयमा अन्तरवार्ताका क्रमममा/तस्वीर: पुकार तिमल्सिना


सरकारी निकायहरुमा निजी कानुन व्यवसायीहरुलाई नियुक्ती रोक्न लबिंग शुरु गर्नुभयो किन ?
महान्यायाधिवक्ता भनेको सरकारको र राज्यको कानुनी सल्लाहकार हो । ऊ अन्तर्गत देशभर सबै सरकारी निकायका लागि चाहिने आवश्यक मात्रामा सरकारी वकीलहरु छन् । सञ्जाल छ । प्रदेशमा पनि छ । कानुनमा सल्लाह दिने अधिकार महान्यायाधिवक्तालाई छ संविधानतः । सर्वसामान्यजस्तो सरकार र सरकारी निकायलाई सल्लाह जो सुकैसँग लिने छुट हुँदैन । संविधान र कानुन भन्दा बाहिरको काम गर्ने ? संविधान र कानुनले नचिनेको मान्छेसँग सल्लाह लिने ? सल्लाह दिन लिन जोसँग पनि हुन्छ भन्ने सर्बसाधारणले बुझ्छन् तर सल्लाह लिन दिन राज्यले चाहिँ व्यक्तिलेजस्तो जो सुकैसँग पाउँदैन । संविधानले नचिनेका मान्छेलाई राज्यकोषबाट तलब भत्ता खुवाएर कानुनी सल्लाहकार राख्ने अनि मुद्दा पर्दा प्रतिरक्षा हामीले गर्ने तर सल्लाह अर्कोको लिने ?
सल्लाह तपाईँले नै दिने हो भने लोकमान सिंह प्रकरणमा सल्लाह लिन बोलाउँदा किन नजानु भएको ?
अघि भनेँ नि राज्यले जोसुकैसँग सल्लाह लिन पाउँदैन । मलाई थाहा थियो सल्लाहका लागि ककसलाई बोलाइएको छ भने र मैले सोधेँ पनि ककसलाई बोलाइएको छ ? संविधान र कानुनले नचिनेका मान्छेलाई बोलाइएको रहेछ । त्यहाँ सल्लाहका लागि कानुन आयोगको अध्यक्ष, कानुन मन्त्रालयको सचिव समेतलाई बोलाइएको रहेछ । अनि म कसरी जान्छु सल्लाह दिन ? सरकारको र राज्यको पनि सीमित अधिकार छ । मान्छे र कानुनी व्यक्तिमा फरक छ ।
नागरिकले जोसँग पनि सल्लाह लिन पाउँछ अनि कुनै सरकारी निकायले पाउँदैन निजी कानुन व्यवसायीसँग सल्लाह लिन ?
संविधानको धारा १५८ को उपधारा १ ले महान्याधिवक्ता नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार हुने छ भनेको छ । अन्य निकायलाई पनि राय सल्लाह दिने महान्यायाधिवक्ताको कर्तव्य हुने छ समेत भनिएको छ । त्यसका लागि सबै सरकारी निकायका लागि सल्लाह दिने सबै तहका न्यायाधिवक्ताहरु छन् । अनि किन चाहियो थप व्ययभार बढाउनलाई निजी क्षेत्रबाट कानुनी सल्लाहकार । अर्को कुरा प्रष्ट हो संविधानतः राज्य र राज्यका निकायले महान्यायाधिवक्ता र मातहतका आधिकारिक न्यायाधिवक्ताहरुबाट मात्र कानुनी सल्लाह लिनुपर्छ ।
जसलाई मन लाग्यो उसैलाई नियुक्ती दिन नहुने बाहेक अरु कारण केही छ कि पर्दा भित्र? सबैतिर कांग्रेस एमाले मात्र भए भनेर हो कि ?
राज्यको कोष जनताले तिरेको करबाट तलब भत्ता खाने गरी नियुक्ती राज्यले नचिनेका व्यक्तिलाई दिनु भनेको नै संविधान र कानुन विपरित काम हो । त्यो रोक्नै पर्छ । जनताले यो काम गर्दा ठीक हो भन्ने छन् ।

तपाईँले चर्चामा आउने यो बाहेक अरु काम चाहिँ के गर्नु भयो ? गर्ने योजना के छ ?
हेर्नुस्, २०७३ पुस ८ र ९ गते हामीले ६५ वर्षको इतिहासमा पहिलो पटक देशभरका सरकारी वकीलहरुको पहिलो राष्ट्रिय सम्मेलन गर्यौँ, म आएपछि । संयोग पनि कस्तो परेछ भने २००८ साल पुस ८ गते देखिको महान्यायाधिवक्ता कार्यालयको इतिहास छ, हामीले पुस ८ र ९ मा त्यो सम्मेलन सम्पन्न गर्यौँ ।

सम्मेलन गर्नु नै महत्वपूर्ण उपलब्धी हो र ?
म भन्दै थिएँ, सम्मेलन गर्नु नै महत्वपूर्ण उपलब्धी होइन । तर, महत्वपूर्ण उपलब्धी यो हो कि हामीले घोषणा पत्रको बुँदा नं. ९ मा कानुनी सल्लाह वा राय राज्यले जो पायो त्यसैसँग लिन पाइन्न । यदि त्यस्तो भएको अवस्थामा हामीले मुद्दाको प्रतिरक्षा गर्ने काम गर्दैनौँ भन्ने उद्घोष गर्यौँ । राज्यलाई नै थाहा नभएका व्यक्ति कानुनी सल्लाहकार राखिँदा राज्य कमजोर हुनसक्छ । गोपनीयताको पनि कुरा आउँछ कतिपय अवस्थामा । त्यसैगरी सरकारका कुनै पनि निकायले सार्वजनिक हित विपरित गरेका कामको प्रतिरक्षा पनि हामी गर्न सक्तैनौं भन्ने समेत हामीले घोषणा गर्यौँ । यसले राज्यलाई पनि जिम्मेवार बन्न हाम्रो अंगबाट सन्देश गएको छ । संविधान त कार्यान्वयन गर्नु पर्यो नि । संविधान कार्यान्वयन गर्ने निकायले नै मिच्यो भने जनताको विश्वास हामीमाथि कसरी रहन्छ ?
यो विषय सार्वजनिक हित विपरित छ वा छैन त्यसैले प्रतिरक्षा गर्छु वा गर्दिनँ भनेर राज्यको सल्लाहकार आफैँले पहिल्यै न्यायाधिस बनेर फैसला गर्दै प्रतिरक्षा गर्दिनँ भन्न मिल्छ र ?
संधिवानले दिएको अधिकार खोज्न मिल्दैन वा नागरिकलाई विना कारण थुन्न पाइन्न भन्ने कुरामा सर्वोच्चको फैसला कुरिरहनु पर्छ र ? नेपाल सरकारको सल्लाहकार म हँु । मैले सकिनँ भने वा महान्यायाधिवक्ता अन्तर्गतका न्यायाधिवक्ताहरुले तथा सरकारका निकायले थप छलफल गर्नु पर्ने भएमा पो बाहिरबाट थप कानुनी सल्लाहकार नियुक्त गर्नु पर्यो त, होइन ?

फेरि पनि प्रश्न छ, तपाईँका घोषणा आफैँमा ऐतिहासिक छन् तर सरकारलाई सल्लाह नै दिन्न, पैरवी गर्दिनँ भनेर सरकारले नियुक्त गरेको महान्यायाधिवक्ताले नै आफैँ न्यायालयभन्दा अगाडि बढेर भन्न मिल्छ ?
महाभियोग समितिले मलाई डाकेपछि कानुन आयोगको अध्यक्षलाई डाक्यो । त्यो व्यवस्था कहीँ छैन । प्राइमा फेसीमै गलत कुरा त गलत नै हो नि । अदालतको फैसला कुर्नै पर्दैन । कुनै सार्वजनिक जमीन व्यक्तिले मिचेकोमा सर्वोच्चको फैसला कुर्नु पर्दैन । त्यस्तो गर्न पाइन्न । सरकारी वकीललाई मुद्दा चलाउने नचलाउने निर्णय गर्ने अधिकार पनि छ । संविधानको धारा १५८ को २ हेर्नु पर्यो नि मैले गलत कुरा उठाएको छु कि संविधानतः थिति बसाउन खोजेको छु भनेर । मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तामा छ संविधानतः त्यो अधिकार प्रयोग गर्दा पनि आफैँ न्यायाधिस भएको भन्ने हुन्छ र ? त्यो अधिकार हामीलाई दिएपछि हामीले अदालतले हेर्नुपूर्व पनि हेर्न सक्छौं । त्यसैगरी महान्यायाधिवक्ताको अधिकार संविधानको धारा १५८ को ४ ले राय व्यक्त गर्न सक्ने छ भनेर राय व्यक्त नगर्न पनि सक्ने समेत अधिकार दिएको छ । कानुन मन्त्रालयको सचिवलाई कानुनी राय लिनको लागि संविधानले चिन्दैन । तपाईँले फेरि प्रश्न गरेजस्तै म पनि फेरि भन्छु राज्यले जो सँग सल्लाह लिने भनेको छ त्यसैसँग सल्लाह लिनुपर्छ । यो संविधानले भनेको कुरा हो मैले भनेको होइन ।

अनि सम्बन्धित सबैलाई निजी कानुन व्यवसायीलाई सल्लाहकारमा नियुक्त नगर्नू, गरेमा तलब भत्ता बेरुजूमा पर्ने छ भन्ने निर्देशन नै दिनु भएको भन्ने समाचारहरु आए, के हो ? त्यो सही हो ?
निर्देशन भन्दा पनि हामीले महालेखा परीक्षकलाई संविधान र कानुनले नचिनेका व्यक्तिलाई दिइएको नियुक्तीबाट दिइएको पारिश्रमिक बेरुजू रहनु पर्छ भनेर भनेका हौँ । उहाँहरु सकारात्मक हुनुहुृन्छ । हाम्रो निर्देशन नै चाहिँ होइन, हुन पनि आफू खुसी नियुक्त गरिएकाका लागि आफैँले तलब सुविधा दिनुपर्छ राज्यकोषबाट होइन, त्यो बेरुजू नै हुन्छ ।
बेरुजु रहेमा महान्याधिवक्ता वा मातहतको प्रक्रियाबाट सरकारवादी मुद्दा दायर गर्ने हो कि ?
संविधान र कानुन अनुसार नै जनताको करबाट उठेको रकम संविधान र कानुन अनुसार नै खर्च हुनु पर्छ । अहिले नै मुद्दाको कुरा किन गर्ने ? सबै कुरा संविधान बमोजिम थिति बस्छ । ट्रयाकमा आउँछ ।

नभए त सरकारवादी मुद्दा नै त्यस्तो नियुक्ती दिनेका नाममा बेरुजू देखाएर चलाउनै पर्यो नि होइन र ? सक्नु हुन्छ ?
हामी छलफलमा छौँ । सकारात्मक जवाफ र व्यवहार आयो भने सकिइहाल्यो ।

सकिइहाल्यो भने मुद्दा दायरै गर्नु परेन, होइन ?
होइन, कुरा के भने राम्रो शुरुआत हुनेछ । संविधान बमोजिम हुनु पर्छ भनेर मैले भनेको छु । कसैले पनि संविधान विपरित हुनुपर्छ भन्नुहुन्न ।

अनि विरोध किन भइरहेको छ त बाहिर ?
सरकारका सबै कागजात सबैले हेर्न पाउँदैनन्, जसले सपथ खानु पर्दैन उसले राज्यको सल्लाहकार कसरी हुन सक्छ ? वास्तवमा यसले सुशासन तोेडेको छ । शान्ति कायम हुने कुरामा पनि शंका सिर्जना भएको छ त्यस्ता केही गलत सल्लाहबाट । त्यसैले यो जरुरी छ । विरोध छ भने त्यस्तो हुनुमा कुरा नबुझेर हो, बुझिहाल्नुहुन्छ सबैले बिस्तारै । तर, विरोध कसैले गरेको छ भन्ने लाग्दैन । सम्बन्धित निकाय सबैले राम्रो शुरुआत भनेका छन् ।

थाहा छैन र ? नामै भन्ने हो भने अधिवक्ता टीकाराम भट्टराई समेतले प्रष्टै आपत्ति जनाउनु भएको छ नि । फेरि तपार्इँ आफै पनि कतिपय ठाउँमा निजी वकील भएर पनि सल्लाकार हुनुहुन्थ्यो होला ।
बच्चामा मैले कपडा लागउँदिनथेँ भनेर अहिले पनि नलगाउने ? उहाँहरुले भनेजस्तो मैले आफूलाई यस पदमा स्थायी ठानेको छैन । म भोलि बाहिरै जाने हो । तर संविधान बमोजिम हुनु पर्ने काम मात्र हुनुपर्छ भन्नुमा विरोध किन हुनुपर्ने हो म बुझ्दिनँ ।

महान्यायाधिवक्ता हुने बित्तिकै निजी कानुन व्यवसायीहरुको रोजीरोटी बन्दै आएका नियुक्तीका ठाउँहरु नै खत्तम गरिदिने ? आफैँ प्राइभेट लयरबाट आएर प्राइभेट लयरको हक हित नहेर्ने भन्ने प्रश्न त सही नै होलान् नि, होइन ?
मैले महान्यायाधिवक्ताको संविधानतः हुनु पर्ने अधिकार खोजेको हो । मैले यहाँ आएर सरकारी वकीलको हेड हुने अनि प्राइभेट वकीलको हित हेर्ने ? म बार काउन्सिलको अध्यक्ष पनि हो । तर, यहाँ आएर मैले प्राइभेट वकीलको हित विपरित काम गरेको छैन । उहाँहरुले पनि त संविधान कार्यान्वयन हुनु पर्छ नै भन्नुहुन्छ होला । भोलि म पनि कानुन व्यवसायी भएरै फेरि बाहिरै जाने हो । रोजीरोटीको कुरा पनि गर्नुभयो तर राज्यका निकायमा कतिजना प्राइभेट वकील छन् र ? यो सानो कुरा हो । नीतिअनुरुप चलौँ भनेको हो । यो निर्णयले कति जनाको नियुक्तीमा समस्या पर्छ र ? म त पेशामा थिएँ । केही गरौँ भन्ने मान्यता राखेर यो काम गरेको हुँ । मैले अहिले सरकारी वकील भएर सोच्ने हो ।

धेरै नभए पनि थोरै वकीलका हातमा धेरै संस्थाहरुका सल्लाहकार वापतको नियुक्ति, तलबभत्ता भाग लाग्छ नि होइन ? वकील थोरै तर पद र नियुक्ति धेरै ।
मान्छे जति भए पनि जो जो भए पनि नाम नै किन भन्ने र व्यक्तिको । त्यसले अर्थ राख्दैन । हामीले सैद्धान्तिक कुरा गरिरहेका छौं । यदि हामी कम्पिटिटिभ छैनौं भने भन्नु पर्यो । जनशक्ति पुगेन भने दिनु पर्यो यो संस्थालाई । नत्र स्रोत दिनु पर्यो । नत्र यो संस्थालाई कोल्याप्स् गर्नु पर्यो । राज्यले आवश्यक छ भनेर बनायो । सरकारको पक्षमा मुद्दा लड्ने हाम्रो काम हो ।
अर्को कुरा, यही काम यस अघिका कुनै पनि महान्यायाधिवक्ताहरुले किन गरेनन् होला ? कारण के थियो होला ?
त्यो अलि, फरक विषय पर्यो । नबुझेर होइन, महान्याधिवक्ता हुने सरकारको राज्यको सल्लाहकार हुने हैसियतकाले नबुझ्ने कुरा भएन । बुझ्नु भएको हो । पहिलाकाले किन गरेनन् भन्ने पनि प्रश्न त्यति महत्वपूर्ण होइन । हिटलर नजन्मेको भए जर्मनी बन्दैनथ्यो भन्छन् । तर, समयले अर्को कसैलाई जन्माउने थियो । त्यो आवश्यकताको कुरा हो । हामीले संविधान र कानुनलाई कार्यान्वयन गर्ने प्रश्नका सन्दर्भमा मेरो ध्यान त्यतातिर गयो होला । अहिले सबैको ध्यान त्यतातिर छ ।

तपाईको नयाँ अभियानप्रति सरोकारवाला निकायबाट प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
संविधान कार्यान्वयन गर्नु पर्दैन भन्न सक्ने कुरा भएन । एकदम राम्रो काम हुन लाग्यो, हामीले भन्न मात्र सकेका थिएनौँ भन्ने प्रतिक्रिया पाएको छु ।

पूरानालाई हटाएर आफ्नाहरु नियुक्त गर्न मात्र हो कि तपाईँको अभियान ?अरु काम चाहिँ उल्लेख्य के गर्नुभयो ?
कहाँ को छ वा थियो भनेर होइन, मैले भनेको संविधानतः के कुरा गलत छ कि अहिलेसम्म भएको अभ्यास चाहिँ गलत छ ? तपार्इँ आफैँ भन्नुस् त । हामीले ६५ वर्षपछि पहिलो सम्मेलन गर्यौँ अघि नै भनेँ ।

अरु काम चाहिँ के गर्नु भयो ? सबै मुद्दा हारेको हार्यै छ सरकारले प्राय ।
हामीले मुद्दामा अनुसन्धान गर्ने प्रहरीलाई र प्रहरीले हामीलाई दोष दिँदै पन्छिने क्रम पनि बढेको थियो । त्यसैले हामीले सरकारवादी मुद्दा गलत हो भने कि मुद्दै नचलाउने तर चलाइसकेपछि जित्ने गरी चलाउने अभ्यास बढाउँदैछौँ । बरामदी मुचुल्का खडा गर्नेले नगरेर अर्कोले खडा गरेकोमा पनि सरकारले हारेका मुद्दाका पनि अनुभवहरु छन् । सरकारी वकीलले प्रहरीलाई, प्रहरीले सरकारी वकीललाई दोष दिने क्रम अब सकिन्छ । म आए पछि विराटनगर कैलाली र काठमाडौंमा नीतिगत निर्णय गर्ने आइ जी देखि तल डिएसपी, एसपीसम्म संयुक्त कार्यक्रमहरु गर्यौँं । समन्वयको अभाव अब हुँदैन । भ्रष्टाचार लगायतका सरकारवादी मुद्दा सरकारले धेरै हार्नुको कारण पत्ता लगाई निराकरण गर्न देशभरका अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरुको ५५० जना भन्दा बढी रहने प्रथम सम्मेलन हामी गर्दैछौं । किन पहिला कसैले गरेन भन्ने प्रश्न होइन । अहिले गरेको काम चाहिँ ठीक कि बेठीक भनेर हेरिनुपर्छ ।
हालसम्मका सबै सरकारी वकीलभन्दा तपाइँ नै बढी लोकप्रिय हुनु होला है, सरकारी वकील वीच ?
मैले लोकप्रियताको लागि होइन, काम गर्नुपर्छ भनेर आएको हुँ ।

कतिको विश्वस्त हुनुहुन्छ आफ्नो अभियान सफल हुनेमा ?
भर्खरै शुरु गरेको छु । केही मूर्त रुप पाउन शुरु भएको छ । अख्तियारले बाहिरका कानुनी सल्लाहकार राखेको थियो । अब उसले राख्दिनँ भनेको छ । ठीक समयमा यो कुरा उठेको छ, हामी कार्यान्वयन गर्छौँ भनेको छ । राष्ट्रपति, संवैधानिक निकाय, स्थानीय तहसम्मका सबैलाई हामीले भनेका छौं । दवाव त अएको छ केही, यसो नगर्नुस् भनेर…

राष्ट्रिय कि अन्तराष्ट्रिय दवाव ?
त्यतातिर अहिले नजाऔँ, तपार्इँले पनि बुझ्नुहुन्छ । एक वर्षसम्ममा त मलाई लाग्छ सफै हुन्छ सबै तहबाट । अर्को सम्मेलनबाट हामी पूर्व घोषणाको समीक्षा पनि गर्ने छौं । धेरै राम्रा सकारात्मक प्रतिक्रियाहरु आएका छन् ।

हालै भएको उच्च अदालतका न्यायाधिसको नियुक्ती विवादित नै बन्यो । यसमा के छ धारणा ?
हो, विवादित बन्यो । बारको सिफारिष, संवैधानिक परिषदको संलग्नतामा भएको निर्णबाट गलत व्यक्ति पर्दैनन् भन्ने लाग्नु पर्ने हो । तर, हतारमा र ढिलो निर्णय दुवै गलत हुन्छन् । सरकारी वकीलहरुको ठूलो गुनासो छ । त्यो गुनासो सही छ । छायाँमा राखिएको हो नै ।
जो जो छानिए, उनीहरुभन्दा अझ राम्रा व्यक्तिहरु पनि छानिन सक्थे नि भन्ने पनि आवाज उठेको छ नि ।
कानुन व्यवसायी, न्यायाधीस स्वयम्बाट र सरकारी वकीलबाट पनि न्यायाधिस बन्ने व्यवस्था हो । तर निजामति दिवसमा सबैभन्दा उत्कृष्ठ भएर पुरस्कार पाउने सहसचिव पनि हाम्रो कार्यालय मातहतबाट पर्नु भएन । यस्ता धेरै उदाहरण छन् । यसमा उचित र सही व्यक्तिहरु छायाँ पारिएका छन् । गुनासो छ । त्यो सही हो ।
तपाईँले बाल्यकालमा आफू कुनै दिन राज्यकै कानुनी सल्लाकार महान्यायाधिवक्ता बन्छु भन्ने सोच्नु भएको थियो ?
शुरुको दिनमा त थिएन, वास्तवमा म व्यापारीको छोरा । म इञ्जिनियर बन्न चाहन्थेँ । म आफू पहिला आए एस्सी गरेर इलोक्ट्रोनिक इञ्जिनियरिंग पढ्न थालेँ । तर पछि एउटा कारणले मैले कानुनी फाँट हेर्नु पर्ने भएकोले म कानुनको विद्यार्थी भएँ । मैले संवैधानिक कानुनमा स्वर्ण पदक प्राप्त गरेँ । २०४६ साल पछि भने मैले म महान्यायाधिवक्तासम्मको जिम्मेवारी कुनै दिन लिनुपर्छ भन्ने मेरो राजनीतिक संलग्नताको कारणले पनि लागेको थियो किनकि कानुन हेर्ने साथीहरु कमै मात्र हुनुहुन्थ्यो ।
व्यापारिक पृष्ठभूमिको मान्छे अहिले राष्ट्रको लागि कानुनी सल्लाहकार बन्दाको अनुभव कस्तो रह्यो ?
म धेरै हौसिने र निरास हुने मान्छे होइन, निश्चितै रुपमा भूमिका बदलिएको छ । हिजो डिफेन्स लयर आज सरकारको कानुनी सल्लाहकार । मेरो लागि चुनौति अवसर भन्दा बढी प्रिय छ । यहाँ चुनौति, अवसर, काम सबैथोक धेरै छन् । मलाई यस्तै काम मन पनि पर्छ । यति महत्वपूर्ण भूमिका भएको महान्यायाधिवक्तलाई छायाँमा राखिएको छ । स्रोत साधनको पनि कमी छ । तर, काम गरिरहेको छु । अनुभव मीठै लागेको छ ।

छोरा छोरीलाई पनि वकील नै बनाउने विचार छ कि के छ ?
छैन, एक छोरी अन्तराष्ट्रिय सम्बन्ध पढिरहेकी छिन् र एक छोरा एम.वि.एस. पढिरहेका छन् । त्यस्तो सोच उनिहरुले नै बनाएनन् । उनीहरुको स्वतन्त्रता पनि हो ।
यस पछिको सपना के छ ?
खासै केही छैन, मुलुकका लागि काम गर्ने हो । फेरि कानुन व्यवसायमा नै निजी क्षेत्रमा फर्कन्छु ।
न्यायाधिस नै बन्ने हो कि अबको लाइन भनेर नि !

छैन, छैन । म एकदम स्पष्ट भन्छु न्यायाधिस बन्ने मेरो कुनै लक्ष छैन । मेरो लक्ष न्यायाधीस बन्ने नभएकोले नै मैले यसरी प्रष्टसँग बोल्न सक्छु ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...